२०८१ माघ २४ गते बिहिवार
२०८१ माघ २४ गते बिहिवार

बाँके र बर्दियामा २१८ जना क्वारेन्टाइनमा

बर्दिया,
१७ चैत।
भारतसँग सीमा जोडिएका बाँके र बर्दिया जिल्लामा कोरोना संक्रमण रोक्न उच्च सतर्कता अपनाइएको छ । दुवै जिल्ला भारतसँग सीमा जोडिएकाले नाकाहरुमा निगरानी बढाइएको छ । दुवै जिल्लामा भारतबाट आउ–जाउ ठप्प छ ।

बाँके र बर्दियामा शंकास्पद २ सय १८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । कवारेन्टाइनमा रहेकामध्ये अधिकांश सीमा नाका बन्द नहुँदै भारतबाट आएकाहरु छन् । केही भने फ्रान्स, मलेसिया र कतारबाट आएका छन् । लुकिछिपी भारतबाट कोही नभित्रिउन् भनेर सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तैनाथ गरिएको छ । भारतको उत्तर प्रदेश सरकारले पनि नेपालसँग सीमा जोडिएका क्षेत्रमा गस्ती जारी राखेको छ ।

बर्दियाका आठ वटै स्थानीय तहमा २ सय ६९ वटा क्वारेन्टाइन बनाइएको छ । हाल १ सय ६८ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका सूचना अधिकारी बालकृष्ण अधिकारीले जानकारी दिए । क्वारेन्टाइनमा बसेकामध्ये अधिकांश भारत, मलेसिया, फ्रान्स र कतारबाट आएकाहरु छन् । उनीहरुको अवस्था सामान्य रहेको भएपनि केहीलाई ज्वरो आएकाले नमूना संकलन गरी परीक्षणका लागि पठाइएको छ ।