बुटवल,
१७ चैत । आइतबार बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । युवकको दुई पटकको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको अस्थायी अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।
पाल्पा रिब्दीकोट स्थायी घर भई बुटवल सैनामैना ४ सिसौडाडा बस्ने ३४ वर्षका बाबुराम थापा क्षेत्रीको दोस्रो स्वाब परीक्षणको रिपोर्ट सोमबार दिउँसो आएको हो । ती युवकको स्वाब अस्पताल भर्ना भएको चौथो दिन मात्रै परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको थियो । शनिबारसम्म थापाको स्वास्थ्य अवस्था स्थिर रहेकोमा आइतबार बिहान श्वासप्रश्वासमा समस्या देखिएको र दिउँसो एक बजे थापाको मृत्यु भएको थियो ।
दुबईमा ट्याक्सी चालक रहेका थापा त्यहाँबाट ६ गते त्रिभुवन विमानस्थल काठमाडौं उत्रिएका र चैत ७ गते बसबाट सैनामैना आएका थिए । थापालाई ज्वरो आएपछि स्थानीय आचार्य मेडिकलमा जँचाएर औषधि सेवन गरेकामा निको नभएपछि चैत १३ गते बेलुका लुम्बिनी प्रादेशिक अस्पताल आएका थिए ।
त्यहाँ सामान्य जाँचपछि बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना गरिएको थियो । मृतक थापाका एक श्रीमती र दुई छोरा छन् । थापाको शव अस्पतालमै रहेको छ ।