२०७८ साउन १६ गते शनिवार
२०७८ साउन १६ गते शनिवार

काँग्रेस संकटका बेला सरकारसँगै छ : दीपक गिरी

काठमाडौं,
१८ चैत ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले कोरोना भाइरसको संक्रमणबाट बच्न नेपाल सरकारले चलाएको अभियानलाई सबैले साथ दिनुपर्ने बताएका छन् ।

कांग्रेस नेता गिरीले मंगलबार प्रेस नोट जारी गर्दै सरकारले जारी गरेको लकडाउनबाट कोरोना भाइरस फैलनाबाट बच्न सकिने बताए । नेता गिरीले चीनबाट स्वास्थ्यसम्बन्धी सामग्रीहरू आएको भन्दै जिल्लाहरूमा पठाएर कोरोना भाइरसको पहिचान, रोकथाम र उपचारमा स्वास्थ्यकर्मीहरूले युद्धस्तरमा काम गर्नुपर्ने बताए । उनले चिकित्सक र स्वास्थ्यकर्मीहरूको मनोवल उच्च बनाउने दायित्व पनि सबैको रहेको बताए ।

कांग्रेस नेता गिरीले दाङमा कोरोना भाइरसको संक्रमणको नमूना परीक्षण गर्ने व्यवस्था छिटो गर्न माग पनि गरेका छन् ।सरकारले खान नपाएका जनताको भरखर लगत लिन थालेको भन्ने समाचारबाट आफू निकै मर्माहत भएको गिरीले बताएका छन् । नेता गिरीले स्थानीय तहका जनप्रतिनिधिहरूलाई राहतको व्यवस्था गर्न अनुरोध गरेका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य गिरीले दाङको सिमाना भारतसँग जाडिएको भन्दै भारतबाट जिल्ला प्रवेश गर्ने व्यक्तिहरूको स्वास्थ्य जाँच र प्रक्रियाहरू पूरा गरेर मात्रै घर जानदिनुपर्ने बताए । नेता गिरीले भारतबाट आफ्नो मुलुक आउन चाहने नागरिकलाई स्वास्थ्य जाँच र क्वारेन्टाइनलगायतका प्रक्रिया पूरा गरेर आउन दिन सरकारसँग अपील गरेका छन् ।

उनले कोराना भाइरस रोकथामको सबैभन्दा उचित उपाय भनेको साबुन र पानी हातधुनेदेखि सामाजिक दुरी कायम गर्ने रहेको बताए ।