काठमाडौं,
१९ चैत । आज अप्रिल १ गते अर्थात् ‘अप्रिल फूल’ । यस दिनमा मान्छेहरु एक अर्कालाई मुर्ख बनाएर तथा ठट्टा गरेर रमाउने गर्छन् ।
तर कोरोना भाइरसले विश्वका मानिसहरुलाई आतंकित बनाइरहेको यो समय वास्तवमा ठट्टा गर्नका लागि उपयुक्त समय होइन । किनकी अरुलाई मुर्ख बनाउने वा जोक गर्ने रमाइलो समय अहिले छैन । यही गम्भीरतालाई इन्टरनेट जाएन्ट गुगलले पनि मनन गरेको छ र यो वर्ष अप्रिल फूल नमनाउने निधो गरेको छ ।
समाचार अनुसार गुगलले यो वर्ष अप्रिल फूल दिवसको प्रान्क रद्द गरेको छ । गुगलको मार्केटिङ विभागका प्रमुख लोरिन टुहिलले कम्पनीका उच्च पदस्थ कर्मचारीहरुलाई इमेलमार्फत् पत्राचार गर्दै गुगलले यस वर्ष अप्रिल फूल मनाउने आफ्नो परम्परालाई थाँति राखेको बताएका छन् ।
गुगलले दुई दशकदेखि अप्रिल फूल मनाउँदै आएको छ । अप्रिल १ को दिन आफ्ना विभिन्न प्लाटफर्महरुमा गुगलले प्रांक गर्ने गर्दछ । तर यो पटक कोरोना विरुद्धको लडाइँमा गुगलले आफूलाई समाहित गरेको छ । कोभिड–१९ सहायता कार्यहरुमा गुगलले ८० करोड डलर सहयोगको प्रतिबद्धता जनाइसकेको छ ।