दाङ,
२० चैत । दाङका मुख्य बजारहरु सुनसान छन् । त्यसको तुलनामा गाउँमा चहलपहल छ । बिहिबार लकडाउनको दशौं दिन हो । जिल्लाका अधिकांश ग्रामीण स्थानमा लकडाउनको प्रभाव कम छ। ग्रामीण क्षेत्रका बासिन्दा नियमित दैनिकीमा छन् । गाउँमा अहिले हिउँदे बाली भित्र्याउने र बर्खे खेतीको तयारी चलिरहेको छ।
गोठबाट मल बारीमा पुर्याउने, बारीमा तोरी मसुरो उखेल्ने, नियमित घाँसदाउरा र गोठालो जाने लगायतका काममा व्यस्त छन्। रेडियो, टिभी, वडा कार्यालयमार्फत लकडाउनबारे सुने पनि गाउँलेहरु नियमित काममा व्यस्त छन् ।
रोजगारीका लागि भारत र अन्य देश गएकाहरु कोरोना भाइरसको महाहारीसँगै घर आएका छन्। उनीहरु यहाँ रहेका गाउँलेसँगै नियमित कामकाजमा छन्। जिल्लाका भालुबाङ, लमही, घोराही, तुलसीपुर, हापुरे र केही मुख्य बजारहरु अहिले सुनसान छन्। बाँकी गाउँमा लकडाउनको प्रभाव न्यून छ।
वडा कार्यालय, स्वास्थ्य चौकीमार्फत एक अर्कासँग भेटघाट नगर्न, जिल्ला र मुलुक बाहिरबाट आएकालाई क्वारेन्टाइनमा पठाएर कोरोना भाइरसबाट बच्न नियमित प्रचार र चेतनामूलक कार्यक्रम जारी राखिएको छ।
उपमहानगर, नगर र गाउँपालिकाले घर बाहिर ननिस्कन, केही समयका लागि एक अर्कासँग भेटघाट बन्द गर्न सूचना जारी गरेका छन्।