२०७७ माघ १२ गते सोमवार
२०७७ माघ १२ गते सोमवार

प्रदेश ५ मा प्रयोगशालाका लागि पीसीआर मेसिन आईपुग्यो

रुपन्देही,
२० चैत ।
प्रदेश ५ सरकारले रुपन्देहीको भैरहवास्थित गहुँ बाली अनुसन्धान केन्द्रमा स्थापना गरिएको कोरोना परीक्षण प्रयोगशालामा जडानका लागि पोर्टेवल पीसीआर (पोलिमरेज चेन रिएक्सन) मेसिन बुधबार बुटवल आइपुगेको छ ।

प्रदेश सरकारले गत चैत १० गते प्रयोगशाला निर्माणको निर्णय गरेर काम अगाडि बढाएको थियो । प्रदेश सरकारको निर्णय अनुसार पीसीआर मेसिन सहित नमुना परीक्षणकालागि आवश्यक अन्य उपकरण आइपुगेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख डा. राजेन्द्र गिरीले बताए । ‘प्रयोगशाला स्थापना भएपछि कोभिड–१९ संक्रमण आशंका गरिएका बिरामीको स्वाब परिक्षण रिपोर्ट तत्काल आउने छ,’उनले भने, ‘संक्रमण आशंका गरिएका व्यक्तिले धेरै कुर्नुपर्ने छैन ।’

प्रयोगशाला नहुँदा अहिले स्वाब संकलन गरेर काठमाडौं पठाउने गरिएको छ । नमुना पठाउन मंहगो हुने भन्दै धेरै जनाको संकलन गरेर एकमुष्ठ पठाउने गरिएको छ । संघीय सरकारले पठाएको पोर्टेवल पीसीआर मेसिन जडान गरेर सञ्चालनका लागि तिब्र गतिमा काम भइरहेको उनले बताए ।

गिरीका अनुसार मेसिन जडान भएपछि प्रत्येक दिन १५ देखि १६ वटा स्वाब परीक्षण गरेर रिर्पोट तयार गरिनेछ । मेसिन सहित छोटो समयकालागि आवश्यक किट तथा रसायन पनि आएको उनले बताएको कान्तिपुरमा प्रकाशित छ ।