देउखुरी,
२१ चैत्र । दाङ जिल्लाको राप्ती गाउँपालिकाका वडाहरुले कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण प्रभावित विपन्न वर्गका घरपरिवारलाई राहत प्रदान गर्ने कार्य सुरु गरेका छन् ।
राप्ती गाउँपालिकाका ९ वटै वडाहरुबाट विपन्न तथा लगडाउनबाट प्रभावित घरपरिवारलाई चामल, नुन, तेल लगाएतका सामग्री वितरण सुरु गरिएको हो । दैनिक रुपमा कामकाज गरेर दैनीक आम्दानी गर्ने तथा अपांगता, जेष्ठ नागरिक र असहाय वर्गका घरपरिवारलाई समेत राहत वितरण गरिएको प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिएका छन् ।
करिव १० हजार बढि घरधुरी र ५३ हजार बढि जनसंख्या रहेको राप्ती गाउँपालिकामा करिव १ हजार बढि गरिव विपन्न घरधुरीलाई यस लकडाउनका कारण प्रथम चरणमै खाद्य समस्या पर्न गएकोले पुर्ण रुपले लगडाउनको पालना गर्न अनुरोध गर्दै गाउँपालिकाले घरघरमै र टोल बस्तीमै गएर प्रथम चरणको राहतका सामाग्री वितरण सुरु गरेको र अर्को चरणमा राहत प्राप्त गर्ने घरधुरीमा बृद्धिहुने समेत गाउँपालिकाले आँकलन गरी राहतको प्याकेज निर्माण् गरेको प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाले बताए ।
वडा गत रुपमा घरमै गएर साथै टोलटोलमा जनप्रतिनिधि तथा कर्मचारीहद्धारा परिवार संख्याको आधारमा प्रथम चरणमा ५ देखी १० किलो चामल, एक एक किलो दाल, २ प्याकेट नुन, एक लिटर तेल र दुई पिस साबुन वितरण गरिएको हो । गाउँपालिकाले वडा नं १ मा ३५ परिवारलाई प्रथम चरणमा राहत वितरण गरेको वडा अध्यक्ष तारा बहादुर डिसीले जानकारी दिएका छन ।टोलटोलमा जनप्रतिनिधि तथा टोलसुधार संस्थाका प्रतिनिधिहरुद्धारा छनौट गरिएको परिवारलाई राहत उपलब्ध गराईएको र आगामी दिनमा समयानुकुल सहयोग गर्दै जान समेत वडा अध्यक्ष डिसीले बताए ।