२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

कोरोनाको डरले गाउँमा छिर्ने नाका बन्द

बर्दिया,
चैत ।
कोरोना भाइरस रोग (कोभिड–१९) भित्रिन नदिन बर्दियाका स्थानीयले गाउँ प्रवेश गर्ने नाका बन्द गर्न थालेका छन् । बाहिरबाट आउजाउ गर्नेबाट संक्रमण फैलिने खतरा रहेको भन्दै शुक्रबारदेखि बढैयाताल गाउँपालिकाका बढैया, जगतिया, खैंसा, फूलबारी, पासीटोल, हल्लनचोक, नयाँबस्तीका नाका बन्द गरिएका छन् ।

नाकाबाट कसैलाई पस्न नदिन युवा परिचालन गरिएको छ। एम्बुलेन्स, सुरक्षाकर्मीबाहेकलाई बाहिरबाट आउजाउ गर्न रोक लगाइएको हो। बढैयाताल–५, का वडाध्यक्ष रामसिंह थारूको अध्यक्षतामा बसेको सर्वपक्षीय छलफलले नाका बन्द गर्न सहमति जुटाएको हो। गाउँका किराना पसल अपराह्न ४ देखि साँझ ६ बजेसम्म मात्रै खोल्न दिइएको छ।

त्यस्तै बाँसगढी नगरपालिकामा लक्ष्मणपुर, चितवन, दमौली लगायत गाउँ प्रवेश गर्ने नाका बन्द गरिएका छन्। भारतसँग सीमा जोडिएको बर्दिया कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छ। स्थानीय प्रशासनले लकडाउन पूर्ण रूपमा पालना गर्न आग्रह गरिरहेको छ। भारतीय सीमामा पनि स्वयंसेवक परिचालन गरिएका छन्।

बर्दियाका बढैयाताल गाउँपालिका, गुलरिया, मधुवन र राजापुर नगरपालिकाअन्तर्गत साढे ८३ किलोमिटर सीमा भारतसँग जोडिएको छ। स्थानीय प्रशासनले भारतबाट आउन पूर्ण रूपमा रोक लगाइएको जनाएको खबर कान्तिपुरमा प्रकाशित छ।