२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

प्रदेश ५ मा १२ जिल्लाका २४ सयजना क्वारेन्टाइनमा

बुटवल,
२२ चैत ।
प्रदेश ५ मा झण्डै दुई हजार चार सय जना व्यक्ति क्वारेन्टाइनमा बसेका छन् । प्रदेश ५ का १२ जिल्लाका २ सय ९६ स्थानमा ५ हजार ५ सय बेडको क्वारेन्टाइन तयार गरिएको छ । प्रदेश ५ स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार साँझसम्म दुई हजार तीन सय ८५ जना क्वारेन्टाइनमा बसेका छन् ।

कोरोनाको त्रासपछि विदेशबाट आएको संख्या धेरै भए पनि क्वारेन्टाइनमा बसाल्न बनेका ५० प्रतिशतभन्दा बढी बेड खाली छन् । क्वारेन्टाइनमा बस्ने मध्ये अधिकांश भारतबाट र बाँकी खाडी मुलुक र न्यून संख्यामा युरोपबाट फर्केका नेपाली छन् ।

पहाडी जिल्लाको तुलनामा तराईका जिल्लाका क्वारेन्टाइनमा बस्नेको संख्या धेरै छ । सबैभन्दा धेरै कपिलवस्तुमा ६ सय ६२ जना क्वारेन्टाइनमा बसेका छन् । कपिलवस्तुमा ३९ स्थानमा ९ सय ८५ जना क्षमताको क्वारेन्टाइन बनाइएको छ ।

बाँकेमा ४ सय २२ जना क्वारेन्टाइनमा बसेका छन् । प्रदेश ५ स्वास्थ्य निर्देशनालयका निर्देशक डा। विनोदकुमार गिरीका अनुसार बाँकेमा ६ सय ८३ जना क्षमता रहेको छ । क्वारेन्टाइनमा राखेर ‘थ्रोट स्वाब’ परीक्षण गरी नेगेटिभ रिपोर्ट आएकाहरु १० जनालाई घर पठाइएको छ । बर्दियामा ३ सय ८६ जना क्वारेन्टाइनमा छन् । बर्दियामा ४ सय ९८ जना क्षमताको क्वारेन्टाइन बनाइएको छ ।

बर्दियापछि रुपन्देहीमा ३ सय ४७ जना क्वारेन्टाइनमा बसेका छन् । रुपन्देहीका १६ वटै स्थानीय तहमा गरी ५ सय ६९ जना क्षमताको क्वारेन्टाइन बनाइएको छ । नवलपरासी पश्चिममा २ सय ८८ जना क्षमताको कवारेन्टाइन बनाइएकोमा ९९ जना बसेका छन् ।

पाल्पामा ३ सय ५१ जना क्षमता भएकामा ३८ जना क्वारेन्टाइनमा बसेका छन् । पाल्पामा चैत १ गतेपछि मात्रै १ हजार ८६ जना जिल्लामा भित्रिएको तथ्यांक छ । तर, क्वारेन्टाइनमा ३८ जना मात्रै छन् । गुल्मीमा ७ सय ९१ क्षमताको क्वारेन्टाइनमा ६२ जना, अर्घाखाँचीमा ४ सय ६२ जना क्षमताको क्वारेन्टाइनमा ३० जना, दाङमा २ सय ६ जना क्षमताको क्वारेन्टाइनमा २६ जना छन् ।

यसैगरी प्युठानमा ३ सय १ जना क्षमताको क्वारेन्टाइनमा ५८ जना, रोल्पामा ३ सय ६१ जना क्षमतामा २ सय २५ जना, रुकुमपूर्वमा ४५ जना क्षमताको क्वारेन्टाइनमा ३१ जना बसेका प्रदेश जनस्वास्थ्य निर्देशक गिरीले जानकारी दिए ।