२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

प्रदेश ५ को बुटवलमा पनि कोरोना परीक्षण गर्ने तयारी

काठमाण्डौं,
२३ चैत ।
सरकारले आइतबारदेखि प्रदेश ५ को बुटवलमा पनि कोरोना भाइरसको परीक्षण गर्ने तयारी गरेको छ । यसअघि जनकपुर, धरान, हेटौँडा, पोखरा, धनगढी र सुर्खेतमा परीक्षण सुरु गरेको सरकारले आजदेखि चितवन र बुटवलमा पनि कोरोना परीक्षण गर्ने तयारी गरेको हो ।

योसँगै अझै धेरै जनाको कोरोना परीक्षण गर्न सकिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले यसअघि विदेशबाट आएकाहरुमा मात्र कोरोना देखिएको र अब नेपालमै रहेकामा पनि सङ्क्रमण देखिएकोले कोरोना सङ्क्रमणको दोस्रो चरणमा प्रवेश गरेको भन्दै थप सजकता अपनाउन अनुरोध गर्नुभएको छ ।

कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले थप सावधानी अपनाउन देवकोटाको सुझाव छ । विशेषगरी विदेशबाट आएकाहरुलाई केही समय परिवारबाट अलग्गै बस्न उहाँले आग्रह गर्नुभयो ।

यस्तै लकडाउनको पालना गर्न पनि सरकारले अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले उपत्यकाका तीन वटा अस्पतालमा १५ जना र उपत्यकाबाहिर ५४ जना गरी ६९ जनाको आइसोलेशन अर्थात् डाक्टरको निगरानीमा उपचार भइरहेको छ ।