तुलसीपुर,
२३ चैत । व्यवसायीहरुको संस्था तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुर उपमहानगरपालिकाको कोरोना विपद कोषमा सहयोग गरेको छ । संघका अध्यक्ष विरवहादुर रावत विरुले उपमहानगरपालिकालाई नगद र जिन्सी गरेर ५ लाख, ५५ हजार ५ सय ५५ सहयोग गरेका हुन् ।
संघका तर्फबाट नगदका साथै क्वारेन्टाइनका लागि वेड, तेल, सावुन लगायतको सहयोग गरिएको महासचिव रुपवहादुर खत्रीले जानकारी दिए । उनले आवश्यक अन्य सहयोगका लागि पनि संघ तयार रहेको वताए ।
उपमहानगरपालिकाले राहतका लागि विपद् कोष स्थापना गरेसँगै संघले विभिन्न व्यवसायीहरुलाई आव्ह्वान गरेर सहयोग संकलन गरेको थियो ।
यसैविच अन्य व्यवसायी एवम् संघ सँस्थाहरुलाई सहयोग गर्नका लागि उद्योग वाणिज्य संघले आव्ह्वान गरेको छ । संघका वरिष्ठ उपाध्यक्ष रामप्रसाद चालिसेले एकद्धार प्रणालीबाट राहत वितरण भएकाले सबै व्यवसायीहरुलाई उद्योग वाणिज्य संघ मार्फत कोषमा सहयोग गर्न आग्रह गरे ।
नेपाल इन्भेष्टमेन्ट वैकमा रहेको विपद् व्यवस्थापन कोषको ०३१०१०४०२५१८६० नम्वरको खातामा रकम जम्मा गरेर कोषलाई सहयोग गर्न सकिने उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले वताए । उनले फुड वैंकमा खाद्यान्न लगायतको जिन्सी समेत सहयोग गर्न सकिने वताए ।
उपमहानगरपालिकाले कोरोना सचेतना, क्वारेन्टाइन निर्माण, विपन्नलाई राहत वितरण लगायतका विभिन्न कामहरु गरिरहेको छ । आपतको समयमा सहयोग गर्नका लागि नगरप्रमुख पाण्डेले सबैलाई आव्ह्वान समेत गरेका छन् ।