शान्तिनगर,
२५ चैत । कोरोना भाइरस रोकथामका लागि मास्क लगाउनु पर्ने अवस्था सिर्जना भएपछि विभिन्न स्थानमा मास्क उत्पादन भएको छ । केहि स्थानमा मास्क वितरण गर्न बाँकी भएतापनि प्राय स्थानमा मास्क वितरण गरी सकिएको छ । विभिन्न वडा तथा संघ संस्थाहरूले कोरोना भाइरस रोकथामका लागि निःशुल्क मास्क वितरण गरेका छन् ।
स्थानिय सिलाई व्यवसायीहरूले स्थानीय स्तरमा मास्क उत्पादन गरी वडा तथा संघ सस्थाहरूलाई उपलब्ध गराएका छन् । शान्तिनगर गाउँपालिकाको वडा नं. ५ रगैजा स्थित राज सटिङ सुटिङले शान्तिनगर गाउँपालिकाको लागि ३५ हजार भन्दा बढी मास्क उत्पादन गरेको प्रोप्राइटर राजु परियारले बताए । वडा नं ५ का वडा अध्यक्ष गिरीराज बस्नेतको पहलमा १ नं वडा देखि ७ नं वडा सम्मका सो परिमाणको मास्क उत्पादन भएको हो ।
७ वटै वडाको मास्क उत्पादनको जिम्मा पाएको राज सटिङ सुटिङले अन्य विभिन्न सिलाई व्यवसायीसंग समन्वय गरेर मास्क उत्पादन गरेको परियारले बताए । सिलाई तथा कपडा व्यवसायी संघ शान्तिनगरका अध्यक्ष समेत रहेका परियारले कोरोना भाइरस रोकथामका लागि मास्क उत्पादन गरेर स्थानिय सिलाई व्यवसायीहरूले राष्टका लागि पनि ठुलो योगदान पुराएको बताए ।