२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

गौरीफन्टा नाका हुँदै दाङ आएका एक युवालाई बेलझुण्डी आइसोलेसनमा लगियो

प्रिया स्मृती गजमेर,
देउखुरी २५ चैत्र ।
केहि दिन अघि भारतको चेन्नईबाट कैलालीको गौरीफन्टा नाक हुँदै दाङ आइपुगेका एक युवालाई आज मंगलवार सम्पर्कमा लिएर दाङको बेलझुण्डी आइसोलेसनमा पठाईएको छ । अहिले ति युवा दाङ आएको १४ दिन पार भैसकेको छ तर कोरोना भाइरसको कुनै लक्षण नदेखिएको बताएका छन् ।

भारतको बिभिन्न राज्यबाट गौरीफन्टा नाका हुँदै १ हजार जना मानिस नेपाल आएका थिए, ति मध्ये दुई जनामा कोरोना भाइरस भएको पुष्टि भैसकेको छ । ति संक्रमित युवा संगै दाङका पनि १० जना युवाहरु नेपाल भित्रिएका थिए । लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसी, उपप्रमुख देवका बेलबासे, सशस्त्र प्रहरी अर्जुनखोलाका डिएसपी इश्वरीदत्त भट्ट लगायतको उपस्थितिमा ति युवालाई एम्बुलेन्स मार्फत बेलझुण्डी पठाईएको हो । जिल्ला प्रशासन कार्यालयले भारतबाट दाङ आएका युवाहरुको नाम थर र ठेगाना दाङका सबै स्थानीय तहलाई पठाएपछि स्थानीय तहले उनीहरुको खोजि सुरु गरेको थियो ।

१० जना मध्ये हाल सम्म आठ जना सम्पर्कमा आएको र उनीहरुलाई आइसोलेसनमा राखिएको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले जानकारी दिए । अन्य दुई जनालाई पनि सम्पर्कमा ल्याउनका लागि पहल भैरहेको रिजालले बताए ।