२०७८ असोज २९ गते शुक्रवार
२०७८ असोज २९ गते शुक्रवार

सिँचाइ हुन नसक्दा ४० लाखको बरमुण्डा दुबो सुक्यो

नेपालगन्ज,
२६ चैत ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ४० लाख रुपैयाँ खर्चेर लगाइएको नेपालगन्ज रंगशालाको बरमुण्डा दुबो सुक्न थालेको छ। लकडाउनपछि दुबोमा सिँचाइ भएको छैन। नेपालगन्जमा दिनप्रतिदिन तापक्रम बढ्दो अवस्थामा छ।

मंगलबार मात्र नेपालगन्जको तापक्रम ३५.५ डिग्री सेल्सियस थियो। रंंगशालाको पश्चिमी मूलद्वार, उत्तार र दक्षिणका सबै ढोकाहरुमा ताला लगाइएको छ। पर्खालमाथि चढेर नियाल्दा रंंगशालाको हरियो मैदान कालो ठूटो जस्तो भएको छ।

मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति प्रदेश ५ का खेल तथा प्रशिक्षण निर्देशक जयन्त शर्मा लकडाउनपछि रंंगशालामा सिँचाइ नभएको स्वीकार्छन्। ‘लकडाउन अघि त दुई तीन दिन बिराएर रंगशालाको दुबोमा सिँचाइ हुन्थ्यो। अहिले सबै कर्मचारी होम क्वारेन्टाइनमा बसेका छन्। सिँचाइ भइरहेको छैन’, उनले भने। रंगशाला परिसरमै रहेको ह्यान्डबल परिसरमा रोपिएको बरमुण्डा दुबो भने अहिले पनि हरियो नै छ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोेगिताका लागि कलकत्तााबाट दुबो ल्याएर लगाइएको थियो। त्यत्तिबेला रंगशाला निकै नै हरियो देखिन्थ्यो। क्षेत्रीय खेलकुद विकास समिति साउन (आठ महिना) देखि पदाधिकारीविहीन छ। समिति पदाधिकारीविहीन हुँदा राष्ट्रिय खेलकुद प्रतियोेगिताका बेलामा करोडौं रुपैयाँको लागतमा निर्माण गरिएका भौतिक संरचना अस्तब्यस्त बनेको खबर अन्नपुर्णपोष्टमा प्रकाशित छ ।