२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

रोल्पाका क्‍वारेन्टाइनको बेहाल, तथ्यांकबारे बेखबर

रोल्पा,
२८ चैत ।
कोरोना संक्रमण रोकथामका लागि स्थानीय तहमा क्‍वारेन्टाइन बनाइए पनि कति जना कहाँबाट आए भन्ने तथ्यांक छैन। स्थानीय तहले निश्चित तथ्यांक नपठाएकाले यकिन जानकारी पाउन नसकिएको स्थानीय प्रशासन कार्यालयको भनाइ छ। त्यतिमात्रै होइन स्थानीय तहले कति संख्यामा क्‍वारेन्टाइन बनाएका छन् भन्नेबारे पनि जानकारी पाइँदैन।

स्थानीय तह र प्रशासनबीच समन्वय नभएकाले भारत र अन्य मुलुकबाट घर फर्किएकाहरुको बसाइ, संख्या र स्वास्थ्य अवस्थाबारे स्वास्थ्यकर्मी र प्रशासन कार्यालय बेखबर भएका हुन्। सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर केसीले स्थानीय तहले क्‍वारेन्टाइनको यकिन अवस्था र बाहिरबाट आएकाहरुको संख्या नपठाएकाले जानकारी दिन मुस्किल भएको बताए। स्थानीय तहका अनुसार हाल रोल्पामा २ सय ६६ जनालाई विभिन्न क्‍वारेन्टाइनमा राखिएको छ। तर प्रशासन कार्यालय यस तथ्यांकमा विश्वस्त छैन।

जिल्लाको अवस्थाको समीक्षा गर्न र आवश्यक योजना बनाउन प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला प्रकोप व्यवस्थापन समितिको बैठक पटकपटक बस्दै आएको छ। तर स्थानीय तहले ठोस योजना बनाउन र तथ्यांक पठाइदिन नसक्दा प्रभावकारी कार्यान्वयन गर्न समस्या देखिएको प्रशासनले जनाएको खबर कान्तिपुरमा प्रकाशित छ ।।