तुलसीपुर,
२९ चैत । प्रदेश ५ सरकारले दाङ तुलसीपुरको बेलझन्डीमा स्थापना गरेको कोरोना विशेष अस्पतालबाट यस अघि अस्पतालमा रहेका २० जनालाई डिस्चार्ज गरिएको छ ।
उनीहरुलाई शुक्रवार डिस्चार्ज गरेसंगै अस्पताल खाली भएको थियो । तर अस्पतालमा थप एक जना नयाँ विरामी भर्ना भएका छन् । अस्पताल व्यवस्थापन समितिका सदस्य सचिव तथा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरीटेन्डेन डा. सर्वेश शर्माका अनुसार घोराही गोग्लीका एक जना शनिबार अस्पताल भर्ना भएका हुन् ।
कोरोना संक्रमित व्यक्तिहरु भित्रिएको कैलालीको गौरीफन्टा नाकाबाट आएका दाङका १० जना मध्ये सम्पर्कमा आएका ८ जनालाई अस्पतालमा राखीएको थियो । उनीहरुको स्वाब परिक्षण गर्दा कोरोना नभएको पुष्टि भएको छ ।
गएको मंगलबार उनीहरु सहित अस्पतालमा रहेका २० जनाको स्वाब परिक्षणका लागि काठमाडौ पठाईएको थियो । उनीहरु सबैको रिपोर्टमा कोरोना संक्रमण नभएको रिर्पोट आएको अस्पतालले बताएको छ । जसमा घोराही उपमहानगरपालिका ४ का ५ जना गौरीफन्टा नाका र एक जना रुपैडिया नाका भएर आएका गरि ६ जना थिए ।
त्यसैगरी, दुबईबाट आएका तुलसीपुर उपमहानगरपालिकाका ५ जना, प्युठानका गौरीफन्टा नाका भएर आएका ३ जना र दुबईबाट आएका २ गरि ५ जना, गौरीफन्टा नाका भएर आएका लमही नगरपालिका, बबई र राजपुर गाउँपालिकाका एक एक जना गरी ३ जना र शान्तिनगर गाउँपालिका घर भई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका कार्यालय सहयोगी एक जनाको स्वाब परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।