२०७८ असोज २७ गते बुधवार
२०७८ असोज २७ गते बुधवार

पैदल हिँडेर चितवन र प्युठानदेखि बर्दियासम्म

प्रिया स्मृती गजमेर,
देउखुरी ३० चैत्र ।
लकडाउनले काम सबै बन्द भयो, जम्मा गरेर राखेको रासनपात सबै सकियो, ठेकेदारले पनि अब काम नभए पछि कसरी पाल्न सक्छु भन्यो अनि हामी घर जान बाध्य भयौं, यो भनाई हो कैलालीका राम कृष्ण चौधरीको ।

दुई दिन साईकलको यात्रा पार गर्दै चौधरी सहित बाह्र जना शनिवार दिउँसो दाङको लमही आइपुगेका छन् । राम कृष्ण सहित ति बाह्र जनाले शुक्रवार मध्यान्ह बाह्र बजे साईकलको यात्राबाट शनिवार लमही आइपुगेका हुन् । साईकलमा आउँदा आउँदै रात परेपछि कपिलबस्तुको गोरुसिंगे प्रतिक्षालयमा बास बसेको उनीहरुले सुनाए । कतै साईकल चलाएर त कतै साइकल डोराएर हिन्ने गरेका छौं, राम कृष्णकी श्रीमती उर्मिलाले भनिन ।

घामले पसिनै पसिना बनेका ति पैदल यात्रीहरु, न समयमा खाना पाएका छन् न प्यास लाग्दा पानी पिउन पाएका छन् ।उनीहरुलाई कति बेला घरमा पुगेर थकान मेटौला भन्ने लागेको छ । ठाउँ ठाउँमा सुरक्षाकर्मीले सोधपुछ गर्छन र केहिले गाडी वालालाई समेत लिफ्ट दिन आग्रह गर्छन तर गाडी वाला डराउँछन ति पैदल यात्रीलाई गाडीमा बसाल्न । न डराउन पनि कसरी ? गाडीमा मान्छे ओसार पसार गर्न सरकारले समेत रोक लगाएको छ ।

त्यस्तै बर्दियाका राम बहादुर थारु सहित अन्य ६ जना पनि प्युठान देखि पैदल हिँडेर शनिवार लमही आइपुगेका छन् । गर्मीले लखतरान परेका उनीहरु कहिले घर पुग्ने भन्ने चिन्तामा छन् । कोरोना भाइरसका कारण बाटोमा भेटिने सवारी साधनले समेत लिफ्ट दिन नमानेको उनीहरुको भनाई छ । घरमा छोडेर आएका साना छोराछोरीले समेत कहिले घर आईपुग्नु हुन्छ भनेर सोध्ने गरेका छन, भोलिको नयाँ बर्ष पनि बाटोमै हिँडेर मनाईने भो प्युठान देखि बर्दिया जाँदै गरेकी सरिता चौधरीले भनिन । यो सबै घरको आर्थिक अबस्था कमजोर भएकोले ज्याला मजुरी गर्नका लागि घर छोडेर बाहिरी जिल्ला गएका निम्न बर्गको पिडा हो ।

अलपत्र परेका यात्रुहरुको सारथी बन्दै श्रेष्ठ :
लकडाउनका कारण बाटोमै अलपत्र परेका मानिसलाई देउखुरी उधोग बाणिज्य संघक अध्यक्ष तथा समाजसेबी रत्न प्रसाद श्रेष्ठले गाडीको व्यवस्था गरेर गन्तब्य सम्म पुर्याएका छन् । काठमाण्डौ, चितवन र प्युठान देखि पैदल दाङको भालुबाङ र लमही सम्म आएका उनीहरुलाई श्रेष्ठले सहयोग गरेका हुन् । श्रेष्ठ बिहानै उठेर चोक चोकमा पुग्छन टाढा जानलाई अलपत्र परेका यात्रुहरुको खोजीमा । यति मात्रै हैन अलपत्र परेका यात्रुलाई उनले आफ्नै खल्तीबाट खर्चेर खानेकुराको समेत बन्दोबस्त गर्ने गर्दछन ।

श्रेष्ठले खानेकुरामा चाउचाउ, बिस्कुट, पानी र मास्क साथमा लिएर हिडेका हुन्छन । लकडाउनले कोहि पनि भोक भोकै मर्न नपरोस श्रेष्ठ भन्छन । हुनत यो बेला सबैले सरकारले गरेको लकडाउनको पालना गर्नु पर्ने हो तर साना बालबालिका काखमा च्यापेर मानिसहरु सडकमा पसिना चुहाउँदै हिडेको देख्दा दुःख लाग्छ अनि केहि न केहि सहयोग गरौ भनेर म पनि उनीहरुको नजिक गएर सबै बुझ्ने प्रयास गर्छु, अध्यक्ष श्रेष्ठले भने । अहिले सम्म श्रेष्ठले करिब तिन सय जना मानिसलाई गन्तब्यसम्म पुग्नका लागि सहयोग गरिसकेका छन् ।