२०८१ बैशाख ११ गते मङ्गलवार
२०८१ बैशाख ११ गते मङ्गलवार

तरकारी र खाद्यान्‍न बोकेका गाडीबाट नेपाल प्रवेश गर्दै भारतीय

बाँके,
३० चैत ।
नेपाल–भारत सीमा नाका सिल गरिए पनि मानिसको आऊजाऊ रोकिएको छैन। मजदुरी गर्न भारत गएका नेपालीलाई स्वदेश फर्किन सकिरहेका छैनन्। तर तरकारी र खाद्यान्न ढुवानी गर्ने नाममा भारतीयहरु नेपाल प्रवेश गरिरहेका छन्।

यो एक हप्ताको अवधिमा चार सय ७१ जना भारतीय नेपाल आएका खुलेको छ। उनीहरु अत्यावश्यक सामान ओसार्ने मालवाहक गाडी भएर नेपाल छिरेका हुन्। तीमध्ये मालबाहक गाडीसँगै दुई सय ४४ जना भने भारत फर्किएका छन्। अतिआवश्यक सामग्री लिएर सबैभन्दा धेरै २९ चैतमा भारतीहरु नेपाल आएका इलाका प्रहरी कार्यालय, जमुनाहको तथ्यांकले देखाएको छ। २९ चैतमा मालबाहक गाडीमा एक सय ५४ जना भारतीय नेपालगन्ज नाका भएर भित्रिएका छन्।

त्यसैगरी २५ चैतमा एक सय ३८ जना नेपाल आएका थिए। २७ चैतमा ८८ जना, २४ चैतमा २४ जना, २६ चैतमा ५४ जना र २८ गते २२ जना भारतीय मालवाहक गाडी भएर नेपाल आएका जमुनाहका प्रमुख सई माधवप्रसाद रिजालले जानकारी दिए। २९ चैतमा आएका एक सय ५४ जनामध्ये ६६ जना भारतीय भने फर्किएका छन्। ‘२५ चैतपछि मात्र एउटा मालबाहक गाडीमा दुई जनाभन्दा धेरै बस्न नपाइने नियम बनाइयो,’ रिजालले भने, ‘त्यसअघि एउटा गाडीमा कति जना आउँथे भन्ने ख्याल गरेनौँ।’ उनले मालबाहक गाडीको साथमा अनधिकृत रुपमा प्रवेश गर्न सक्ने अवस्था नरहेको बताए।

भारतबाट आएका मालबाहक गाडीमा कति जना आए भन्ने रेकर्ड दुवै देशका सुरक्षाकर्मीले राख्ने गरेको उनले बताएको खबर थाहाखबरमा प्रकाशित छ ।