२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

वीरगञ्ज नाकामा चिया बेच्ने महिलामा कोरोना संक्रमण पुष्टि

धनगढी,
१ बैशाख ।
कैलालीको लम्की चुहामा ६५ वर्षीया एक महिलामा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।

१७ गतेदेखि लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा थिइन् । वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी ९ चैतमा लम्की आएकी थिइन् । उनीसहित १७ जना चैत ९ मा मात्र कैलालीको लम्की पुगेका थिए ।भुरुवामा आफन्त कहाँ बसेकी उनलाई स्थानीय जनप्रतिनिधिले सबैलाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखेका थिए । ‘हामी नेपालबाटै आएका हौं, घरमै बस्छौं भनेका थिए । हामीले हुँदैन भनेर क्वारेन्टाइनमा राखेका थियौं,’ लम्किचुहाका मेयर महादेव बजगाईंले भनेका छन् ।

क्वारेन्टाइनमा बसेकाहरुको र्‍यापिड टेष्ट किटबाट परीक्षण गरिएको थियो । रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई २८ चैतमा घर पठाइयो । उनी पनि भुरूवास्थित आफन्त कहाँ गएकी थिइन् ।

तर पीसीआर बिधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । अब उनीहरु सबैलाई फेरि क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको छ । कोरोना संक्रमण देखिएन भनेर घर पठाइएको व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको कैलालीको यो दोस्रो घटना हो ।

यसअघि चौथो संक्रमितको आफन्तलाई पनि सुरुमा क्वारेन्टाइनमा राखेर कोरोनाको लक्षण नदेखिएको भन्दै घर पठाइएको थियो । तर पछि परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।