२०७८ बैशाख ७ गते मङ्गलवार
२०७८ बैशाख ७ गते मङ्गलवार

भारतसँग जोडिएको प्रदेश ५ को ४ सय किलोमिटर नाका सील

कपिलवस्तु,
१ बैशाख ।
५ नम्बर प्रदेशको भारतसँग सीमा जोडिएका स्थानमा २ सय बढी अस्थायी पोष्ट खडा गरेर सीमानाका सील गरिएको छ । खुला सीमाका कारण कोरोना भाइरस संक्रमणको त्रास बढेका कारण सशस्त्र प्रहरी सीमामा तैनाथ भएर आवागमनमा पूरै रोक लगाएको छ ।

सशस्त्र प्रहरीको टोली लुकीचोरी आवतजावत हुने ठाँउमा पाल टाँगेर र अस्थायी पोष्ट खडा गरेर २४ घण्टा ड्यूटीमा खटिएको छ । पश्चिम नवलपरासीदेखि बर्दियासम्म ४ सय ८ किमी खुला सीमा भारतसँग जोडिएको छ । सशस्त्र प्रहरीको टोली प्राय एउटादेखि अर्को पोष्ट देखिने गरी खटिएका छन् । ‘आई कन्ट्याक्ट हुने गरि पोष्ट राखिएका छन’, ५ नम्बर प्रदेश सशस्त्रको बाहिनी प्रमुख डीआईजी नारायणदत्त पौडेलले भन्नुभयो, ‘कही कही वन, नदी र तालका कारण केही पर छन् ।’

त्यस्ता ठाउँमा मोबाइल पैदल गस्ती गरेर सीमा निगरानी गरिरहेको जानकारी पनि उहाँले दिनुभयो । त्यस्तै गाडीबाट नियमित पेट्रोलिङ एवं निगरानी पनि बढाइएको छ । प्रदेश भरी सीमामा २८ बीओपी (बर्डर आउटडोर पोष्ट) र ३ भन्सार गुल्म स्थायी संरचना थिए । त्यसमा अहिले थप २ सय बढी अस्थायी पोष्ट स्थापना गरिएका छन् । अस्थायी पोष्टमा आवश्यकता अनुसार जनशक्ति परिचालन गरिएको छ ।

प्रत्येकमा ५ देखि ८÷१० जनासम्म छन् । सीमाका ६ जिल्लामा अस्थायी पोष्टकालागि थप एक हजार जनशक्ति परिचालित छन् । तालिम केन्द्र, पहाडी जिल्ला, अन्य प्रदेश र हेडक्वाटरबाट यहा जनशक्ति झिकाईएको छ । मुलुक लकडाउनमा गएसँगै चैत ११ गतेबाट सीमामै रहेका युनिटको जनशक्ति अधिकतम परिचालन गरिएको थियो । चैत २२ गतेबाट अस्थायी पोष्टमा खटाइएकाहरु पाल र टेण्ट टाँगेर बसेका छन् ।

सशस्त्रको हेडक्वाटर र बाहिनीबाट ड्यूटीका लागि त्रिपाल र टेण्ट पठाइएको हो । कहीकही स्थानीय पालिकाले समेत सहयोग गरेका छन् । जिल्लामा रहेका गणका प्रमुख उपरीक्षकले स्थानीय स्तरबाटै सहयोग जुटाएर बन्दोबस्ती मिलाएको डीआईजी पौडेलले बताउनुभयो । अस्थायी पोष्टमा खटिएका जनशक्तिको खाना नजिकको स्थायी युनिटले मिलाएको छ । ड्यूटी बदली गर्दा गाडीमा ल्याउने लैजाने गरिन्छ । कतिपय ठाउँमा गाडीमा खाना पु¥याउने गरिएको छ ।

अप्ठयारो र जान समय लाग्ने ८÷१० ठाँउमा मात्र अस्थायी पोष्टमै खाना पकाउने गरिएको छ । भाँडाकुडा र ओछ्यान टेण्ट र स्थानीय पालिकाको सहयोगमा मिलाईएको छ । सीमा काउण्टर पार्ट एसएसबीले पनि राम्रो सहयोग गरेको उहाँले बताउनु भयो । ‘उनीहरुले पनि सीमा सिल गरेका छन’, उहाँले भन्नुभयो, ‘उनीहरु पनि उत्तिकै सतर्क छन् ।’ बेला बेला सीमामा दुबै मिलेर गस्ती गर्छौं । यस्ले सीमामा जनतामा निगरानी कडा रहेको सन्देश जाँदा लुकीचोरी आवतजावत गर्ने हतोत्साहित बनेको खबर न्युज24खबरले प्रकाशित गरेको छ ।