२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

दाङमा ३६ सय मध्ये जम्मा ८९ जना मात्र क्‍वारेन्टाइनमा

दाङ,
१ बैशाख ।
दाङ जिल्लामा विदेशबाट फर्किएका ३ हजार ६ सय बढी छन् । तर तीमध्ये ८९ जना मात्र क्‍वारेन्टाइनमा छन् । तीमध्ये पनि ४९ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई पनि डिस्जार्च गरिएको छ । बाँकी पनि धेरैजसो होम क्‍वारेन्टाइनमा रहेका कारण जिल्लामा स्थानीय तहले बनाएका धेरैजसो क्‍वारेन्टाइन रित्तै जस्तै छन् । आइसोलेसन कक्ष पनि खालि छन् ।

फागुन २५ देखि चैत ११ सम्मको अवधिमा भारतलगायत तेस्रो मुलुकबाट ३ हजार ६ सय ३७ जना जिल्ला भित्रिएका स्थानीय तहको तथ्यांकले देखाएको छ । त्यसरी जिल्ला भित्रिनेलाई सरकारले अनिवार्य रुपमा क्‍वारेन्टाइनमा राख्न अनुरोध गरे पनि अधिंकाश मानिस घरमै होम क्‍वारेन्टाइन भन्दै बसेका छन् । तर हालसम्म कुनै त्यस्तो समस्या भने नदेखिएको जिल्ला आपतकालीन कार्य सञ्चालन दाङका सूचना अधिकारी विश्व अर्यालले बताए ।

जिल्लाका १० वटा स्थानीय तह छन् । ती पालिकामा ३ सय ४२ बेडको क्‍वारेन्टाइन र दाङको बेलझुण्डीमा १ सय बेडको कोरोना विशेष अस्पताल बनाइएको छ । त्यस्तै सबै स्थानीय तहमा गरी ६६ बेडको आइसोलेसन बेड तयारी अवस्थामा रहेको अर्यालले बताए । दाङमा भारतबाट मात्र ३ हजार ४ सय ९५ जना भित्रिएका छन् । सबै भन्दा धेरै दाङको बंगलाचुली गाँउपालिकामा १ हजार ४ सय १३ जना भित्रिएका छन् । तीमध्ये कोही पनि स्थानीय तहले बनाएका क्‍वारेन्टाइनमा बसेका छैनन् । सबै होम क्‍वारेन्टाइनमा बसेका बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले बताए । विदेशबाट आएकाहरु गाउँमा सबैसँग घुलमिल भइरहे पनि अहिलेसम्म कसैमा पनि समस्या नदेखिएको उनले बताए ।

घोराही उपमहानगरपालिकामा १ हजार २ सय ६८ जना विदेशबाट भित्रिएका छन्। तीमध्ये केहीलाई क्‍वारेन्टाइनमा राखी परीक्षण गरिएको र रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको र केहीलाई होम क्‍वारेन्टाइनमा बस्न आग्रह गरिएको उपमहानगरका प्रवक्ता भरत अर्यालले बताए । उपमहानगरका जनप्रतिनिधिहरुले प्रत्येकका घरमा पुगेर शंकास्पद व्यक्तिलाई क्‍वारेन्टाइन र कोरोना विशेष अस्पतालमा पठाउने गरेको उनले बताएको खबर थाहाखबरमा प्रकाशित छ ।