२०८२ बैशाख १३ गते शनिवार
२०८२ बैशाख १३ गते शनिवार

रिएजेन्ट र भिटिएम नहुँदा कोरोना जाँच्‍ने मेसिन अलपत्र

बाँके,
२ बैशाख ।
तीन दिनअघि भेरी अस्पतालमा कोरोना भाइरस जाँच गर्ने मेसिन जडान भयो। बाँके र बर्दिया जिल्लालाई लक्ष्य गरी प्रदेश सरकारको सहयोगमा लाखौँ रुपैयाँ पर्ने कोरोना जाँच मेसिन अस्पतालमा जडान भयो। तर, जडान भएको मेसिनमा प्रयोग हुने रिएजेन्ट र भाइरल ट्रान्सपोर्ट मिडियम(भिटिएम) नभएकै कारण उक्त मेसिन प्रयोगविहीन छन्।

मेसिनसँगै स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस जाँच गर्न प्रयोग हुने रिएजेन्ट पनि पठाउनुपर्ने हो, तर मेसिन आएको एक हप्ताभन्दा धेरै समय बित्दासमेत पठाउने कुनै पत्तो नभएको भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए। स्वाब संकलन र जाँचका लागि प्राविधिकलाई तयारी अवस्थामा राखे पनि आवश्यक किट र सामग्री नहुँदा मेसिन सञ्चालनमा आउन नसकेको उनले बताए। उनले भेरी अस्पतालमा जडान भएको मेसिन प्रयोगमा नआउँदा संकलन भएका स्वाब सुर्खेत, बुटवल र काठमाडौँ पठाउने गरेको बताए।

‘मेसिन पठाएर रिएजेन्ट नपठाउनु भनेको खाना खान बसालेर रित्तो थाल मात्र अगाडि राख्नुसरह हो,’ डा. थापालले भने। रिएजेन्ट अस्पतालले किन्न सक्ने अवस्था नभएको पनि उनले बताए। बजारमा नपाइने भएकोले मन्त्रालयको मुख ताक्नुको विकल्प नभएको उनको बताए। कोरोना भाइरस जाँच गर्ने मान्यतासमेत अहिलेसम्म नदिएको उनको अर्को गुनासो छ। मन्त्रालयले मान्यता नदिएकाले जाँच गर्ने काम अघि नबढ्ने थापाले बताएको खबर थाहाखबरमा प्रकाशित छ ।