२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

सांसदले नै सरकारको नीति उल्लंघन गरेर राहत बाँडे

दाङ,
३ वैशाख ।
दाङ क्षेत्र नम्वर १ प्रतिनिधि सभाका सांसद मेटमणी चौधरीले सरकारले एकद्धार प्रणालीबाट राहत वितरण गर्नका लागि बनाएको नीति उल्लंघन गरेका छन् । सरकारले दोहोरो राहत वितरण नहोस् भन्नका लागि वनाएको एकद्धार प्रणालीबाट राहत वितरण गर्नका लागि सम्वन्धित निकायमा पत्राचार गरेको थियो ।

सरकारको नीति अनुसार जिल्ला प्रशासन कार्यालय दाङले राहत वितरण गर्दा जनप्रतिनिधि, प्रहरी र दाताको अनिवार्य उपस्थितिमा मात्रै राहत वितरण गर्ने भनेपनि उनले प्रहरी र जनप्रतिनिधिको समन्वय बिना नै एकलौटी राहत वितरण गरेका हुन् । सांसद चौधरीले तुलसीपुर उपमहानगरपालिकाको वडा नम्वर १७, १८ र १९ मा राहत वितरण गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले सरकारले बनाएको नियम सबैलाई वरावर हुने भन्दै मनोमानी ढंगले कसैले पनि राहत वितरण गर्न नहुने वताए ।

तुलसीपुर उपमहानगरपालिकाले टोलविकास संस्थाको सहकार्य र वडाको सर्वदलीय वैठकबाट छानिएकालाई राहत वितरण गरिसकेको छ । उपमहानगरपालिकाले राहत वितरण गरेको साता दिन पनि नपुग्दै सांसद चौधरीले सोही मान्छेहरुलाई राहत वितरण गरेका हुन् ।

“जनताले आवश्यक ठाने जहाँ गएर पनि वितरण गर्न सकिन्छ” सांसद चौधरीले भने । उनले स्थानीय सरकारलाई खवर नगरेर राहत वितरण गरिनु कमजोरी भएको समेत स्वीकारे । “खवर गर्न भनेको साथीहरुले किन खवर गरेनन् मलाई अचम्म लागेको छ ” उनले भने । सचिवालयले कहाँ राहत वितरण गर्ने भनेर समन्वय गरेको पनि उनले वताए ।

वडा नम्वर १८ का वडाध्यक्ष माधव वलीले सांसद जस्तो गरिमा वोकेको मान्छेले मनोमानी ढंगले राहत वितरण गर्नु उचित नभएको वताए । उनले वडाका सबै विपन्न परिवारलाई आफुले राहत वितरण गरिसकेको अवस्थामा अनायासै राहत वितरण गरिनुले आफुलाई अचम्मित भएको वताए ।