बुटवल,
४ वैशाख । कोरोना कहरले शिथिल पार्न सक्ने अर्थतन्त्रलाई पुनरूत्थान गर्ने ध्येयका साथ प्रदेश नम्बर ५ को सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट तयारी थालेको छ।
कोरोनाकै खराब प्रभावका कारण आगामी बजेट चालु आर्थिक वर्षको भन्दा सानो आकारको हुने छ। प्रदेश ५ सरकार आर्थिक वर्ष २०७७/७८ को बजेट तर्जुमा गृहकार्यमा जुटेको छ। प्रदेशको आर्थिक कार्यविधि अनुसार माघ मसान्तसम्ममा आगामी बजेटको सीमा निर्धारण गरिसक्नुपर्ने भएपनि व्यस्तता र कोरोना कहरको कारण देखाउँदै केही ढिला गरी बजेट निर्माण पुर्व तयारीमा प्रदेश सरकार जुटेको हो।
आर्थिक मामिला तथा योजना मन्त्रालयअन्तर्गतको योजना तथा बजेट महाशाखा प्रमुख जनार्दन पौडेलले बजेट निर्माणको गृहकार्य स्वरुप दोस्रो चौमासिकसम्मको मन्त्रालयगत प्रगति विवरण तथा बजेट खर्चको समिक्षा भइरहेको बताए। पौडेलले भने, ‘धमाधम मन्त्रालयगत समिक्षा भइरहेको छ, बजेटमा समावेश गर्नुपर्ने कार्यक्रमका लागि मन्त्रालयहरुलाई पत्राचार गरिसकेका छौं।’ सरकारले प्रदेश सभामा जेठ १५ अगावै नीति तथा कार्यक्रम र असार १ गते बजेट पेस गर्नेछ।