२०७९ फाल्गुन ३० गते मङ्गलवार
२०७९ फाल्गुन ३० गते मङ्गलवार

भारतसँग सिमा जोडिएका दाङका सबै नाका सिल

दाङ,
५ बैशाख ।
कोरोना भाइरसको संक्रमण रोक्न तथा सीमा नाकामा सुरक्षा व्यबस्था थप सुदृढ गर्न भारतसँग सिमा जोडिएका दाङका सबै नाकाहरु अनिश्चितकालका लागि पूर्णरुपमा सिल गरिएको छ ।

यसअघि जिल्लामा १० ठूला नाकाहरुमध्ये ७ वटा नाका सिल गरिएकोमा आज शुक्रबारबाट थप ३ वटा नाका पनि सिल गरिएसँगै दाङका सबै नाकाहरु पूर्ण रुपमा बन्द भएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

उनका अनुसार भारतसँग सिमा जोडिएको प्रमुख नाका रुपमा रहेका कोइलावास नाकासहित साना ठूला गरी ३१ नाकाहरु अब अनिश्चितकालका लागि बन्द भएको छ । जिल्लाको ८३ किलोमिटर क्षेत्रमा रहेका नाकाहरुमा सशस्त्र प्रहरीको टोली खटाइएको छ । केही समय अघि मात्रै नेपाल–भारत सिमा जोडिएका दाङका मुख्य नाकाहरु कोइलावास नाका, भौवा नाका, खंग्रा नाका, पटौली नाका, गुङखोला नाका, भौरीसाल नाका, सुनपथरी नाका गरी ७ वटा नाकामा सशस्त्र प्रहरीको क्याम्प खडा गरी परिचालन गरिएको छ । आजबाट थप ३ वटा नाकाहरु डगमारा नाका, खबरी नाका र भैँसाही नाकामा पनि सशस्त्र प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।

उनका अनुसार प्रत्येक क्याम्पमा ३०/३५ जनाको युनिट खडा गरी सशस्त्र प्रहरी बल सिमा सुरक्षार्थ खटाईएको छ । जिल्लामा उपलब्ध श्रोत साधन र आवश्यकताका आधार जनशक्ति थप गर्दै लगिने छ । बन्द गरिएका सिमा नाकाहरुमा सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतको सुरक्षाफोर्स राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कोइलाबासलगायत केही नाकामा भने नेपाल प्रहरी पनि परिचालन गरिएको छ ।