२०८१ माघ २७ गते आइतवार
२०८१ माघ २७ गते आइतवार

वैशाख मसान्तभित्रै विद्युतको बिल नतिरे जरिवाना लाग्ने

दाङ,
५ बैशाख ।
लकडाउनका कारण सर्वसाधारण घरबाहिर निस्किन बन्देज भइरहेका वेला विद्युत् प्राधिकरणले भने चैतको बिजुली बिल जारी गरेको छ । महसुल रकम वैशाख मसान्तभित्र तिरिसक्नुपर्नेछ अन्यथा जरिवाना लाग्ने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कर्मचारी फिल्डमा नगई ग्राहकले फागुनमा उपभोग गरेको बिजुलीकै आधारमा चैत महिनाको पनि बिलिङ गरिदिएको हो । अवस्था सहज भएपछि घरघर गएर मिटर रिडिङ गरी हिसाब मिलान गर्ने गरी हाललाई अस्थायी बिलिङ गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।

लकडाउनका कारण सम्पूर्ण आर्थिक गतिविधि ठप्प भएपछि सरकारले भने करदेखि बैंकको ब्याज तिर्नेसम्मको म्याद असारसम्मलाई लम्ब्याइदिएको छ । यसबाट सर्वसाधारणलाई राहत महसुस भइरहेका वेला प्राधिकरणले भने विद्युत् महसुल तिर्नुपर्ने झन्झट थोपरिदिएको हो । महसुल वैशाख मसान्तभित्र तिरिसक्नुपर्नेछ अन्यथा जरिवाना लाग्नेछ ।

प्राधिकरणले ग्राहकलाई अनलाइन भुक्तानी गर्न आह्वानसमेत गरेको छ । १ लाख रुपैयाँसम्म महसुल उठ्ने घरायसी उपभोक्ताले अनलाइनबाट बिल भुक्तानी गर्न सक्नेछन्। त्यस्तै, १ लाख रुपैयाँभन्दा बढी बिल आउने उपभोक्ताले बैंकमार्फत भुक्तानी गर्ने व्यवस्था प्राधिकरणले गरेको छ ।