२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

प्रदेश ५ ले ४४ वटा कृषि एम्बुलेन्स सञ्चालन गर्ने

बुटवल,
६ वैशाख ।
लकडाउनका कारण किसानहरुले उत्पादन गरेका कृषिजन्य वस्तु ढुवानी र बजारीकरणमा समस्या परेपछि प्रदेश ५ सरकारले ‘कृषि एम्बुलेन्स’ सञ्चालन गर्ने भएको छ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानहरुले उत्पादन गरेको कृषि तथा पशुजन्य वस्तुको आपूर्ति तथा बिक्री वितरणका लागि ४४ वटा पिकअप भ्यानलाई ‘कृषि एम्बुलेन्स’को रुपमा उपलब्ध गराउन लागेको हो।

मन्त्रालयका प्रवक्ता एवं योजना तथा अनुगमन महाशाखा प्रमुख विनोद घिमिरेले अनुदानमा उपलब्ध गराएका ३४ वटा र थप मन्त्रालयका सरकारी १० वटा गरी ४४ वटा पिकअप भ्यान लाई ‘कृषि एम्बुलेन्स’को रुपमा उपलब्ध गराउने बताए। उत्पादक किसान, सहकारी संस्था तथा व्यवसायीलाई सहुलियत दरमा तरकारी, फलफूल, दूध, माछा, मासु तथा अन्य उपभोग्य सामग्रीको उपलब्धतालाई सहज बनाउन यस्तो व्यवस्था गर्न लागिएको उनको भनाइ छ।

भ्यानको न्यूनतम भाडा भने कृषि उद्यमी तथा कृषि सहकारीहरुले नै बेहोर्नुपर्नेछ। गाडीको लागि आवश्यक इन्धन कृषि ज्ञान केन्द्र र पशु सेवा विज्ञ केन्द्रले बेहोर्नेछन्। ज्ञान केन्द्र र पशुसेवा विज्ञ केन्द्रले आर्थिक भार बेहोर्न नसकेमा थप बजेट मन्त्रालयले दिने मन्त्री आरती पौडेलको भनाइ छ।