काठमाडौं,
६ वैशाख । कोरोना भाइरसबाट विश्वभरमा ज्यान गुमाउनेको संख्या डेढ लाख नाघेको छ । अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार शनिबार बिहान ८ बजेसम्म कूल १ लाख ५३ हजार ८ २२ जनाको ज्यान गइसकेको छ । यो विश्वभरको तथ्यांक हो ।
त्यस्तै, हालसम्म विश्वभरमा संक्रमित हुनेको संख्या २२ लाख ४० हजार १ सय ९१ पुगेको छ । जसमा ५ लाख ६८ हजार ३ सय ४३ जना मानिस उपचारपछि निको भएर घर फर्किएका छन् । बाँकी सबैको उपचार जारी छ । उपचार गराइरहेकामध्ये पनि करिब १ लाख मानिसको अवस्था गम्भीर छ ।
कोरोनाबाट सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा मात्रै ३६ हजार ६ सय ७ जनाको ज्यान गइसकेको छ । त्यहाँ दैनिक ठूलो संख्यामा मानिसको ज्यान गइरहेको छ । अमेरिकामा कूल संक्रमतिको संख्या पनि ७ लाख नाघिसकेको छ । यो समाचार बनाउँदासम्म त्यहाँ ७ लाख ६ हजार ३ सय ९ जनामा संक्रमाण देखिएको छ ।
त्यसपछि युरोपियन देशमा सबैभन्दा बढी इटालीमा २२ हजार ७ सय ४५ जनाको ज्यान जाँदा स्पेनमा २० हजार २ जनाको ज्यान गएको छ । त्यसपछि फ्रान्समा पनि १८ हजार ६ सय ८१ को ज्यान जाँदा बेलायतमा १४ हजार ५ सय ७६ जनाको ज्यान गएको छ । जर्मनीमा ४ हजार ३ सय ५२ जनाको ज्यान गएको छ ।
यता, इरानमा हालसम्म ४ हजार ९ सय ५८ जनाको ज्यान जाँदा कोरोनाको उद्गम चीनमा ४ हजार ६ सय ३२ जनाको ज्यान गएको छ । बेल्जियममा ५ हजार १ सय ६३ जनाको ज्यान गएको छ ।