२०७७ कार्तिक १० गते सोमवार
२०७७ कार्तिक १० गते सोमवार

पत्नीद्वारा चिर्पटले टाउकामा प्रहार गरी पतिको हत्या

प्युठान,
६ वैशाख ।
प्युठानको मर्कावाङमा पत्नीले चिर्पटले पतिको टाउकामा प्रहार गरी हत्या गरेकी छन्। माण्डवी गाउँपालिका–२, मर्कावाङमा ४० वर्षीय गुमानसिंह अधिकारीको ३५ वर्षीया पत्नी निशाले हत्या गरेको अभियोग लगाइएको छ।

दाङको बङ्गलाचुली गाउँपालिका वडा नं ५ स्थित माइतीघर बस्दै आएकी पत्नीलाई लिन जाँदा दुवैबीच सामान्य घरायसी विवाद भई पत्नीले दाउराको चिर्पटले पतिको टाउकामा प्रहार गरेको बताइएको छ। श्रीमतीको प्रहारबाट गम्भीर घाइते अधिकारीको शुक्रबार राति उपचारका क्रममा कोहलपुर मेडिकल कलेज बाँकेमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। भाउजु र उनका बाबुले मिलेर दाइको हत्या गरेको आरोप मृतकका भाइ हेमराजले लगाएका छन्।

श्रीमतीले आफूले चिर्पटले प्रहार गरेको स्वीकारेको र हत्यामा अन्य व्यक्तिको संलग्नता भए नभएको अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ। शव परीक्षणपछि आफन्तको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए।