२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

नेपालमा कोरोना भाइरसका ३ जना बिरामी निको भए

काठमाडौं,
६ वैशाख ।
शनिबार एकै दिन दुई जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोनाबाट निको हुने संख्या तीन पुगेको छ।

फ्रान्सबाट फर्किएकी काठमाडौंकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठ निको भएर टेकु अस्पतालबाट डिस्चार्ज भएकी छिन्। बेल्जियमबाट फर्किएकी ६५ वर्षीया महिला पनि निको भएर आजै अस्पतालबाट घर फर्किएकी छिन्। दुबै जनाको २४ घण्टाभित्र २ वटा नतिजा लगातार नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको हो।

यसअघि चीनबाट फर्किएका एक विद्यार्थी पनि कोरोनाबाट निको भएर घरमा छन्। उनी नेपालको पहिलो कोरोना संक्रमित हुन्। चीनबाट आएका उनको हङकङ परीक्षण गर्न पठाइएकोमा माघ १० गते संक्रमण पुष्टि भएको थियो। डिस्चार्ज भएर घरमा रहेका उनलाई संक्रमण पुष्टि भएपछि अस्पतालमा फेरि भर्ना गरियो। उपचारपछि नतिजा नेगेटिभ आएपछि उनलाई घर पठाइएको हो।

दोस्रो संक्रमित काठमाडौंकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठ गत चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी थिइन्। उनलाई चैत ९ गते संक्रमण पुष्टि भएपछि त्यहीँ राति टेकु अस्पताल भर्ना गरियो। उनलाई संक्रमण भएको स्वास्थ्य मन्त्रालयले १० गते पत्रकार सम्मेलनमार्फत् जानकारी गरायो। दोस्रो संक्रमित देखिएको भोलिपल्टदेखि सरकारले लकडाउनको समेत घोषणा गर्यो। शनिबार डिस्चार्ज भएपछि श्रेष्ठले चिकित्सक र स्वास्थ्यकर्मी सबैलाई धन्यवाद दिएकी छिन्। उनले सरकारलाई समेत बढी भन्दा बढी मानिसलाई आइसोलेसनमा राख्न सुझाएकी छिन्।

उनले आफू सुरूदेखि नै आइसोलेसनमा बसेकाले परिवारलगायत कसैलाई पनि संक्रमण नदेखिएकाले आइसोलेसनमा बस्नु अनिवार्य रहेको बताइन्। निको भएपछि आफ्नो रगतमा भएको एन्टिबडी भोलि कुनै संक्रमितलाई चाहिएको अवस्थामा दिने श्रेष्ठले प्रतिबद्धता व्यक्त गरिन्। उनी फ्रान्सबाट कतारसम्म सँगै आएकी भियतनामी साथीलाई संक्रमण भएपछि टेकु अस्पतालमा जाँच गर्न पुगेकी थिइन्।

आजै डिस्चार्ज भएकी बाग्लुङकी ६५ वर्षीय महिला पनि बेल्जियमबाट कतार हुँदै आएकी थिइन्। उनी र टेकु अस्पतालबाट डिस्चार्ज भएकी युवती कतारको दोहाबाट एउटै जहाजमा आएकी हुन्। उनलाई चैत २० गते संक्रमण पुष्टि भएपछि धौलागिरि अञ्चल अस्पताल भर्ना गरिएको थियो। उनलाई भन्दा उनीसँगै बेल्जियमबाट आएकी नातेदारले नातिनी पर्ने १९ वर्षीय युवतीलाई पहिले संक्रमण देखिएको हो।

युवतीलाई चैत १५ गते संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना गरिएको हो। उनी अहिले पनि अस्पतालमै छिन्। उनको चार वटै परीक्षणको नतिजा पोजेटिभ देखिएपछि अस्पतालको बसाइँ लम्बिएको छ। युवतीलाई सुरूमा संक्रमण देखिएपछि पछि महिलाको पनि परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएको थियो।

आज निको भएपछि महिलाले आफूले संसारलाई नै हल्लाएको रोगलाई जितेको बताइन्। उनले ठूलो आत्मबल लिएर यो रोगसँग लडेको सुनाइन्। उनले सबै हौसला दिनेहरूलाई धन्यवाद दिएकी छिन्। यो रोगसँग लड्न आत्मबलले ठूलो सहयोग पुग्ने भन्दै अन्य संक्रमितलाई समेत नआत्तिन र बलियो हुन सुझाएकी छिन्।

नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३० पुगेको छ।जसमा तीन जना निको भएर घर फर्किएका छन् भने २७ जना विभिन्न अस्पतालको आइसोलेसनमा छन्। संक्रमितहरूमध्ये विराटनगरको कोरोना अस्पतालमा १२, नारायणी अस्पतालमा ४, भरतपुर अस्पतालमा २, टेकु अस्पतालमा १, पाटन अस्पतालमा २, धौलागिरि अञ्चल अस्पतालमा १ र सेती प्रादेशिक अस्पतालमा ५ जना भएको खबर सेतोपाटीमा प्रकाशित छ ।