२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

भारतमा कोरोनाबाट ५२ वर्षीय प्रहरी अधिकारीको मृत्यु

काठमाडौं,
६ वैशाख ।
भारतको पञ्जाबमा कोरोना भाइरसको कारण एक प्रहरी अधिकारीको मृत्यु भएको छ । पञ्जाबको लुधियानाका एसीपी अनिल कोहलीको कोरोना भाइरसको कारण शनिबार मृत्यु भएको हो । उनी ओपोलो अस्पतालमा भर्ना भएका थिए ।

उनलाई लुधियानाकै एसपीएस अस्पतालमा प्लाज्मा थेरापी दिने तयारी गरिएको थियो । तर, यो प्रक्रिया सुरु हुनुपूर्व नै उनको मृत्यु भएको हो । पञ्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले एसीपी अनिल कोहलीको मृत्युमा दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले केही दिनअघि मात्र एसीपीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको बताएका हुन् ।

समाचारमा बताएअनुसार ५२ वर्षीय एसीपी हालै कुनै बाहिरी मुलुकको यात्रामा भने गएका थिएनन् । शुक्रबार पञ्जाब सरकारले उनीमाथि प्लाज्मा थेरापी दिइने बताएको थियो । उनी भारतमा प्लाज्मा थेरापी लिने पहिलो बिरामी हुने थिए ।

त्यस्तै, भारतका अन्य २६ सुरक्षाकर्मीमा पनि कोरोना संक्रमित भएका छन् । भारतीय जलसेनाका २६ सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको हो । भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेअनुसार, पोजेटिभ देखिएका नौ सैनिक मुम्बईस्थित पश्चिम कमाण्डका हुन् । रिपोर्ट पोजेटिभ आएलगत्तै ती सैनिकहरूको उपचार प्रक्रिया थालिएको बताइएको छ ।

जलसेनामा कोरोना देखिएको यो पहिलो घटना भने होइन । यसअघि अमेरिकी नौसेनाका दर्जनौ सैनिकमा पनि कोरोनाको संक्रमण पुष्टि भएको थियो ।