स्याङ्जा,
७ वैशाख । गण्डकी प्रदेशमा प्रवेश गर्न रोक लगाउने प्रदेश सरकारको निर्णयसँगै सीमा नाकामा कडाइ गर्न सुरु गरिएको छ ।
गण्डकी प्रदेश र प्रदेश नम्बर ५ को सीमा नाकामा सशस्त्र प्रहरीको अस्थायी बिट स्थापना गरिएको छ । प्रहरीले सडकमै काँडेतार राखेर प्रवेशमा कडाइ गरेको हो ।
कोरोना भाइरसको जोखिम बढ्न नदिन गण्डकी प्रदेशमा अन्य प्रदेशबाट प्रवेशलाई सीमा नाकाबाटै निषेध गर्ने निर्णय भएसँगै सीमा नाकामा कडाइ गरिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।
प्रदेशको निर्णयसँगै जिल्ला सुरक्षा समिति स्याङ्जाको बैठकले राम्दीमा सशस्त्र प्रहरीको अस्थायी बिटको स्थापना गरेर चेकचाँजमा कडाइ गर्ने निर्णय गरेको कुरुम्बाङको भनाइ छ ।
वालिङमा रहेको सशस्त्र प्रहरी बल नम्बर ३० गुल्मबाट तत्कालको लागि ११ जना प्रहरी टोलीलाई सीमा नाका राम्दीमा खटाइएको गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक राजेश खरेलले जानकारी दिनुभयो । सशस्त्र प्रहरी नायब निरीक्षक नेतृत्वको प्रहरी टोलीले सीमा नाकामा चौबिसै घण्टा चेकचाँज गर्ने गुल्मपति खरेलले बताउनुभयो ।
प्रदेशमा गठित कोरोना सङ्कट रोकथाम समितिको शुक्रबार बसेको बैठकले जारी लकडाउनलाई प्रदेशमा कडाइका साथ पालना गराउने निर्णय गरेको थियो ।
बैठकले प्रदेशको एक जिल्लाबाट अर्को जिल्ला वा एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुनसक्ने आवतजावतलाई नियन्त्रण गरी सम्बन्धित जिल्ला र स्थानीय तहमा क्वारेण्टीनमा राख्ने व्यवस्था मिलाउने निर्णय पनि गरेको खबर उज्यालो अनलाईनमा प्रकाशित छ ।