२०८१ असोज १७ गते बिहिवार
२०८१ असोज १७ गते बिहिवार

सरकारले बेमौसमी बाजा बजायो : नेपाली कांग्रेस


काठमाडौँ,
८ वैशाख ।
सरकारले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने निर्णयलाई कांग्रेसले बेमौसमी बाजको संज्ञा दिएको छ ।

सोमबार दिउँसो सरकारले अध्यादेश ल्याउने निर्णय गरेसँगै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अहिले संसारकै मुख्य प्राथमिकता कोरोना भाइरसमाथि विजय हासिल गर्ने भएको बताएका हुन्।

उनले सामाजिक सञ्जालमार्फत अहिले नेपालका लागि पनि कोरोनामाथि विजय हासिल गर्नु नै प्राथमिकताको कुरा भएको उल्लेख गर्दै अरु सबै विषण गौण भएको बताएका छन्। प्रवक्ता शर्माले लेखेका छन्, हाम्रो सम्पूर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापूर्वक समर्पित रहनैपर्छ।

सरकारले अध्यादेश ल्याउने निर्णय गरेसँगै नेकपभित्र हलचल मच्चिएको छ। पूर्वमाओवादी पक्षका मन्त्रीहरु ऊर्जामन्त्री वर्षमान पुनको कार्यकक्षमा बैठक बसेर अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटार पुगिसकेका छन्।

त्यस्तै दाहालले पनि जिल्लाबाहिर रहेका सबै नेतालाई काठमाडौं बोलाइसकेका छन्। यसैबीच केही बेरमै बालुवाटारमा नेकपा सचिवालयको बैठक बस्दैछ।