प्रिया स्मृती गजमेर,
देउखुरी ८ वैशाख । देउखुरीको राप्ती पारी रहेको राष्ट्रिय वनमा काठ काट्दै गरेको अवस्थामा चार जना पक्राउ परेका छन ।
ढलेको अस्ना र सालको रुख घर प्रयोजनको लागि भनेर काट्दै गरेको समयमा गढवा गाउँपालिका वडा नम्बर पाँच बाकी बस्ने रामदिन यादव, राम कुमार यादव त्यस्तै वडा नम्बर ६ बस्ने दिलिप कुमाल र अनिल कुमार कुमाल रहेको सहायक वन अधिकृत देबी चौधरीले जानकारी दिए ।
कोरोना भाइरसका कारण अदालतमा उपस्थित गराउन समस्या भएकोले लकडाउन पछि आफै हाजिरी हुने गरि गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष बालचन्द्र हमाल ठकुरीको जिम्मा लगाईएको छ । पक्राउ परेकाहरुले बिक्रीवितरण गर्नका लागि नभए पनि चेतावनी स्वरुप नियन्त्रणमा लिन परेको देउखुरी डिभिजन वन कार्यालयका डिभिजनल प्रमुख प्रबीण बिडारीले बताए । यो कारबाहीले अन्य बदमासी गर्नेलाई पनि सचेत पार्न मद्धत गर्ने बिडारीले बिश्वास लिए ।
देउखुरी डिभिजन वन कार्यालय लमहीले चोरी निकासीका घटना हुन नदिन वन क्षेत्रमा अनुगमन र गस्तीलाई तिब्रता दिएको छ । लकडाउनका बेला राष्ट्रिय तथा सामुदायिक वनमा हुने चोरी निकासी लाई मध्यनजर गर्दै दैनिक जसो गस्ती गर्ने गरेको डिभिजनल वन प्रमुख प्रबीण बिडारीले बताए ।
कोरोना भाइरसका कारण देशमा लकडाउन गरिएको छ । सबैलाई अत्यावश्यक काम बाहेक घर बाहिर नआउन सरकारले आह्वान गरेको छ तर यति बेला वन जोगाउनका लागि डिभिजनल वन कार्यालयका कर्मचारी यस क्षेत्रका विभिन्न सामुदायिक वन क्षेत्रमा खटिएका छन । फिल्डमा खटिने कर्मचारीलाई एका तिर वन जङलमा चोरी तस्करी हुन्छ कि भन्ने चिन्ता छ, भने अर्को तिर स्वास्थ्य सुरक्षा चुनौती रहेको वन डिभिजनल प्रमुख बिडारीको भनाई छ । यस्तो विषम परिस्थितिमा पनि हामी फिल्डमा खटिएर काम गरिरहेका छौ उनले भने।
देउखुरीका राप्ती वारि र पारिका राष्ट्रिय वन तथा सामुदायिक वनमा दैनिक जसो चोरीका घटना हुन थाले पछि डिभिजन वन कार्यालयले पनि आफ्नो मातहतमा रहेका सब डिभिजन वन कार्यालयलाई तदारुकताका साथ अनुगमन गर्न निर्देशन दिएको छ । सोही अनुशार सब डिभिजन वन कार्यालयले पनि निगरानी गरिरहेको छ ।
केही समय अघि राजपुर गाउँ पालिका वडा नम्बर १ माररी खोला स्थित बुकि डाँडा सामुदायिक वनमा ठूलो परिमाणको काठ फेला परेको थियो । उक्त घटनामा दुई जनालाई समेत पक्राउ गरेर अहिले मुद्दा चलिरहेको छ । त्यस पश्चात् नियमित गस्ती र अनुगमन गरेपछी छिट्पुट घटना हुने गरेको देउखुरी डिभिजन वन कार्यालय लमहीका सहायक वन अधिकृत लालबाबु यादवले बताए ।