२०७९ चैत्र ३ गते शुक्रवार
२०७९ चैत्र ३ गते शुक्रवार

प्रदेश ५ मा कोरोना संक्रमण रोक्न ट्रेसिङ एप सञ्चालन

बुटवल,
९ वैशाख ।
प्रदेश ५ ले कोरोना भाइरस संक्रमण रोक्न सोमबारबाट नेपाल कोभिड–१९ ट्रेसिङ एप सञ्चालनमा ल्याएको छ । देश लकडाउनको अवस्थामा रहेका बेला प्रकोपविरुद्ध लड्न एपले महत्त्वपूर्ण भूमिका खेल्ने सरकारले जनाएको छ ।

यो एपले कोभिड–१९ का संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिको विवरण पत्ता लगाउन मद्दत गर्नेछ । ब्लुटुथमा आधारित भएकाले नियमित इन्टरनेट वा मोबाइल डाटा प्रयोग गरिरहन नपर्ने, अफलाइन र अनलाइन दुवै अवस्थामा चलाउन सकिने, अफलाइन चलाउँदा संकलित विवरण अनलाइनमा हुँदा स्वतः अपडेट हुने सुविधा रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।

‘सिंगापुर, दक्षिण कोरियाजस्ता देशले समेत कोभिड १९ को नियन्त्रणका लागि यो प्रविधि प्रयोग गरिरहेका छन्,’ उनले भने, ‘कोभिड १९ नियन्त्रण एवम् व्यवस्थापनका लागि मात्र एप प्रयोग गरिनेछ ।’ यसको प्रयोग गरिरहँदा प्रयोगकर्ताको सूचना पूर्णतया गोप्य रहने उनले जनाए ।

एप प्रयोग गर्न जीपीएस लोकेसन तथा संक्षिप्त विवरण पेस गरी लग इन गर्न सकिने केसीले बताए । यो एप प्रदेश ५ मुख्यमन्त्री पोर्टलमा गई डाउनलोड गर्न सकिने उनले जानकारी दिए ।