प्रिया स्मृती गजमेर,
देउखुरी ९ वैशाख । लमही नगरपालिकाको स्वास्थ्य टोलिले वडा नम्बर ९ को तरुलिया पुगेर जिल्ला बाहिरबाट फर्किएका कामदारहरुको स्वास्थ्य चेकजाँच गरेको छ । काठमाण्डौ र चितवनका विभिन्न इट्टा भट्टामा काम गरेर गाउँ फर्किएका कामदारहरुको स्वास्थ्य चेकजाँच गरिएको हो । कोरोना भाइरसका कारण उनिहरुले काम गर्दै आएका उधोगहरु बन्द हुँदा कामबिहिन भएर उनिहरु सोमवार मात्र गाउँ फर्किएका हुन ।
ठूलो संख्यामा कामदारहरु गाउँ फर्किएको भन्ने सुचनाका आधारमा लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसी, उपप्रमुख देबका बेल्बासे, वडा नम्बर ९ का वडा सदस्य पार्वती बिश्वकर्मा, स्वास्थ्य शाखा प्रमुख लोकराज पौडेल, अर्चना श्रेष्ठ, लमही नगरपालिकाका प्रेस सल्लाहकार शिबु खनाल लगाएतको टोलि त्यहाँ पुगेर स्वास्थ्य चेकजाँच गरिएको हो ।
उनिहरुलाई करिब चौध दिन सम्म घर छोडेर बाहिर नजान, स्वास्थ्यमा केही समस्या देखिए नजिकैको स्वास्थ्य सस्थामा सम्पर्क गर्न भनिएको छ । कामको शिलशिलामा विभिन्न ठाँउबाट फर्किएकाहरुमा केही समस्या नदेखिएको लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख लोकराज पौडेलले जानकारी दिए । आर्थिक समस्याका कारण घर छोडेर काम गर्न गएका सबै कुमाल र बोटे समुदायका रहेका छन । २८ जना काठमाण्डौ र चौध जना चितवनबाट गरेर बयालिस जना गाउँ फर्किएका हुन ।
‘लकडाउनले गर्दा काम बन्द भयो, ५/७ दिन सम्म त ठेकेदारले रासन दियो त्यस पछि सम्पर्क बिहिन भयो, तरुलियाका लिलाराम बोटेले भने । ‘झन्डै एक महिना त काठमाण्डौमै बसियो त्यहाँ बसेर के खाने भन्ने चिन्ताले सताउन थाले पछि बालबच्चा लिएर घर हिँडे’ बोटेले भने । काठमाण्डौ र चितवनदेखि कतै गाडीमा त कतै पैदल हिडेर उनिहरु आइतबार लमही सम्म पुगेका थिए । लमही आइसकेपछि लमही नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भेष बहादुर केसीले गाडीको ब्यवस्था गरेर गाउँसम्म पुर्याएका थिए ।