दाङ,
१० वैशाख । भारत कमाउन गएका दाङ निवासी एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–५ गोठलीगाउँ निवासी नोखिराम वलीको सोमवार भारतको लुधियानामा निधन भएको हो ।
घरको कमजोर अवस्थाका कारण केही समय पहिले कमाउन भारतको लुधियाना गएका वली एक महिनादेखि विरामी भएका थिए । सुरुमा ज्वरो आउने समस्या देखिएका उनी ज्वरो विग्रिएर टाइफाइडका कारण मृत्यु भएको अस्पतालले बताएको छ ।
‘सुरुमा ज्वरो आउने गरेको थियो,औषधी खाइरहनुभएको थियो’,उनका भतिज कमल वलीले भने,‘ज्वरो राम्रो नभएपछि पछि पुन अस्पताल गएर चेक गराउँदा टाइफाइड भनेको थियो,औषधी खाइरहनुभएको थियो ।’ कमजोर आर्थिक अवस्था भएका वलीले राम्रोसँग उपचार गराउन नसक्दा मृत्यु भएको उनले बताए ।
कमाउने मान्छे स्वयम विरामी भएपछि पछिल्लो समय उनी समस्यामा परेका थिए । ‘कमाउने मान्छे नै बिरामी भएपछि,उपचारमा समस्या भएको थियो’,उनले भने,‘बिरामी भएपछि घर जाने तयारीमा हुनुहुन्थ्यो तर लकडाउनका कारण सिमा बन्द भएपछि घर नआएर बस्नुभएको थियो ।’
लकडाउनसँगै घरको कमजोर अवस्थाका कारण मृतक वलीको सव घर ल्याउन नसक्ने भएपछि उनको सवलाई लुधियानाको टन्डारी भन्ने ठाउँमा मृतकका कान्छोभाई होमबाहादुर वली र भजित कमल वलीले अन्तिम संस्कार गरेको परिवारले जनाएको छ ।