२०७९ फाल्गुन २६ गते शुक्रवार
२०७९ फाल्गुन २६ गते शुक्रवार

प्रदेश ५ ले २०७७ मा ६ दिन बिदा दिने

बुटवल,
१० वैशाख।
प्रदेश ५ सरकारले प्रदेशअन्तर्गतका जिल्लामा कोरोना भाइरस जोखिम व्यवस्थापनका लागि आवश्यक बजेट दिने निर्णय गरेको छ। प्रदेश सरकार, मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश विपद् व्यवस्थापन कोषमा रहेको रकमबाट तराईका जिल्लामा आठ लाख र पहाडी जिल्लामा पाँच लाख रूपैयाँ दिने निर्णय गरेको हो।

उक्त रकम विपद् व्यवस्थापन समितिमा उपलब्ध गराइने निर्णय गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए।

यस्तै बैठकले २०७७ मा प्रदेशले दिने ६ दिनको बिदाबारे समेत निर्णय गरेको छ। प्रदेश सरकारले एक वर्षमा बकर इद, १ र २ माघ तथा ३ फागुनमा प्रदेश स्थापना दिवसमा बिदा दिइने निर्णय गरेको छ। स्थानीय तहको निर्णयबाट हुने एक दिनको बिदा र निश्चित पर्व मनाउने समुदाय र ठाउँमा एक दिन बिदाको निर्णय गरिएको छ। निश्चित पर्व मनाउने समुदाय र ठाउँअन्तर्गत रुकुम रोल्पामा भूमेपूजा, थारु समुदायको बडकवा अतवारी र पाल्पामा भगवतीजात्रामा बिदा दिइनेछ।

बैठकले बालरोग विशेषज्ञ डा. किरणमणि पौडेललाई लुम्बिनी प्रादेशिक अस्पतालमा हाजिर गराई कामकाजमा खटाउने निर्णयसमेत गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार केसीले जारी गरेको प्रेसनोटमा जनाइएको छ।