२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

भारतीय क्‍वारेन्टाइनमा रहेका नेपाली आक्रोशित

भैरहवा,
१२ वैशाख ।
रूपन्देहीको सीमावर्ती भारतको नौतनवास्थित क्‍वारेन्टाइनमा राखिएका नेपाली लामो अवधिसम्म घर फर्किन नपाएपछि आक्रोशित भएका छन् । उनीहरूको अवस्था बुझ्न बुधबार सरकारी अधिकारी त्यहाँ पुगेका थिए । सरकारी प्रतिनिधिलाई देख्नासाथ क्‍वारेन्टाइनमा रहेकाहरूले नाराबाजी गरेका थिए । माहोल बिग्रिएको थाहा पाएपछि सरकारी अधिकारी क्‍वारेन्टाइनको गेटबाटै फर्किएका थिए ।

‘क्‍वारेन्टाइनमा रहेकाहरू नेपाल सरकारका प्रतिनिधि र नेताको मुख हेर्ने मनस्थितिमै छैनन्,’ अवस्था बुझ्न गएका जिल्ला प्रशासनका प्रशासकीय अधिकृत ध्रुव नेपालले भने, ‘घर जान नपाएकामा आक्रोशित र विक्षिप्त छन्।’ भारतका विभिन्न स्थानबाट बेलहिया नाकासम्म आएका उनीहरूलाई दुई साताका लागि भनेर भारतीय क्‍वारेन्टाइनमा राखिएको थियो। मुलुक प्रवेश पाउनुपर्ने भन्दै उनीहरूले दुई दिन नाकामा बसेर दबाब दिएका थिए।

नौतनवास्थित क्‍वारेन्टाइनमा अहिले ३ सय ३५ जना नेपाली नागरिक छन्, जसमध्ये महिला र बालबालिका पनि छन्। उनीहरू कोही पनि बिरामी भने छैनन्। क्‍वारेन्टाइनमा रहेका नेपालीको खाने, बस्ने व्यवस्थापन र अन्य सामग्री प्रदान गरेर सहयोग गर्दै आएको नौतनवास्थित जिल्ला गोरखा समाज कल्याण सेवा समिति महाराजगन्जले तत्कालै उनीहरूलाई घर जाने वातावरण तयार गर्न नेपाल सरकारसँग माग गरेको छ। समितिले यसबारेमा रूपन्देहीका प्रमुख जिल्ला अधिकारी, भारतस्थित नेपाली दूतावास, नेपाल–भारत मैत्री समाजलगायत निकायमा ज्ञापनपत्र बुझाएको छ।

‘उनीहरू सबै आ–आफ्नो घर जानका लागि अति बेचैन छन्,’ गोरखा समाज कल्याण सेवा समिति महाराजगन्जका अध्यक्ष तथा भारतीय गोरखा परिसंघका प्रदेश उपाध्यक्ष मनोजकुमार रानाले कान्तिपुरसँग भने, ‘उनीहरूलाई घर जाने अनुमति नेपाल सरकारले दिएमा भारतीय सुरक्षा निकाय र प्रशासन छाड्न तयार छ।’तीन सातादेखि सिमानामा अलपत्र आफ्ना नागरिकलाई के गर्ने भन्ने बारेमा भने अहिलेसम्म नेपाल र भारत सरकारले कुनै निर्णय गरेका छैनन्।

एक–अर्को देशको क्‍वारेन्टाइनमा राख्ने बारेमा दुवै देशको माथिल्लोस्तरको निर्णय भएकाले माथिल्लोस्तरकै निर्णय चाहिने रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए।

‘हामीले उनीहरूको अवस्थाका बारेमा जानकारी गराइसकेका छौं,’ उनले भने, ‘माथिबाट अनुमति पाउनासाथ तत्काल निर्णय गरेर उनीहरूलाई घर जाने वातावरण मिलाउनेछौं।’

सीमादेखि करिब डेढ किमिको दूरी डन्डापुल नजिकैको निमा प्रतिमान अध्ययन प्रतिष्ठानमा नेपालले बनाएको क्‍वारेन्टाइनमा रहेका १ सय ५४ जना भारतीय नागरिकको अवस्था पनि उस्तै छ। आफ्नो घरमा जान नपाएको भन्दै त्यहाँ रहेका भारतीय नागरिकले पनि केही दिनअघि खाना नखाएर हडतालमा उत्रिएका थिए। रूपन्देही प्रशासनले सीमावर्ती भारत महाराजगन्ज जिल्लाका जनप्रतिनिधि, सुरक्षा अधिकारीलाई क्‍वारेन्टाइनमै बोलाएर आफ्ना नागरिकलाई भेट गराएर कुराकानी गराएको थियो। उनीहरूले सम्झाएपछि भारतीय नागरिकको आक्रोश मत्थर भएको रूपन्देहीका एसपी हेम थापाले बताएको खबर कान्तिपुरमा प्रकाशित छ ।