२०८१ माघ २७ गते आइतवार
२०८१ माघ २७ गते आइतवार

भूकम्पको पाँच वर्ष पुरा, लकडाउनले पुनर्निर्माण ठप्प

काठमाडौं,
१२ वैशाख ।
२०७२ सालको भूकम्प गएको पाँच वर्ष पूरा भएको छ। गोरखा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट ध्वस्त भएका निजी आवास पुनर्निर्माणको काम लकडाउनका कारण रोकिएको छ। कोरोना महामारीका कारण घोषित लकडाउनले गर्दा गत चैत ११ गतेदेखि निजी आवास पुनर्निर्माणको काम अघि बढ्न नसकेको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ।

भूकम्पका कारण गोरखामा ७२ हजार एकसय १३ वटा निजी आवास ध्वस्त भएका थिए। जसमध्ये ६६ हजार सातसय ५९ वटा घर पूर्ण क्षति तथा पाँच हजार तीनसय ५४ घर आंशिक क्षति भएका थिए। हालसम्म ५६ हजार चारसय १७ घर अर्थात ८४.५१ प्रतिशत निजी आवास पुनर्निर्माण सम्पन्न भइसकेको कार्यालय प्रमुख रामशरण आचार्यले जानकारी दिए। कार्यालयको तथ्यांकअनुसार सबैभन्दा धेरै प्रगति भूकम्पको केन्द्रबिन्दू बारपाकको भएको छ।