२०८१ असोज ३ गते बिहिवार
२०८१ असोज ३ गते बिहिवार

कृषकहरुको समस्या समाधान गर्न कृषि एम्बुलेन्स शुरु

दाङ,
१२ बैशाख ।
जिल्लामा कृषकहरुको समस्या समाधान गर्नका लागि कृषि एम्बुलेन्स सेवा शुरु गरिएको छ । कृषि ज्ञान केन्द्रले बिहीवारबाट एम्वुलेन्स सेवा शुरु गरेको हो । जिल्लामा पहिलो पटक सरकारी तहबाट यस्तो सेवा शुरु गरिएको हो । निजी क्षेत्रले भने केही समय अघिदेखि नै आफ्नो तर्फबाट घुम्ती सेवामार्फत कृषकले उत्पादन गरेका कृषि उत्पादन बजारसम्म ल्याएर उपभोक्ताको घर–घरसम्म पुर्याइराखेका छन् ।

अहिले कृषकहरुको समस्या समाधान गर्नका लागि २ वटा गाडीबाट सेवा शुरु गरिएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत भरतमणि पोख्रेलले जानकारी दिए । कृषकको माग भएमा गाडी थप गर्न सकिने अधिकृत पोख्रेलको भनाइ रहेको छ । कृषकहरुको समस्या समाधानका लागि यस प्रकारको कार्य शुरु गरिएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । कृषि एम्बुलेन्समा कृषि उत्पादन बजारसम्म ल्याइदिएपछि कृषक आफै आएर त्यसलाई बिक्री गर्ने उनको भनाइ रहेको छ ।

त्यसैगरेर कृषकलाई आवश्यक पर्ने कृषिसम्बन्धी सामग्री तथा बीउ, मलसमेत गाउँसम्म पुर्याइदिने व्यवस्था गरिएको छ । यसले गर्दा कृषकहरुलाई बीऊ तथा सामग्री ल्याउनका लागि बजारसम्म आउनुपर्ने बाध्यता समेत हट्ने अपेक्षा लिइएको छ । लकडाउनको कारण कृषकहरुले उत्पादन गरेका कृषिजन्य वस्तु खेर जान थालेको गुनासो गर्दै आएका छन् ।