दाङ,
१३ वैशाख । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस (कोभिड–१९ )को स्वाब परीक्षण सुरु भएको छ ।
प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीका अनुसार हिजो शुक्रबारदेखि पीसीआर प्रबिधिबाट स्वाब परीक्षण सुरु भएको हो । अहिले प्रतिष्ठानको आइसोलेसनमा रहेका १० जनाको स्वाब परीक्षण गर्ने कार्य भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दका अनुसार पीसीआर मेसिन जडान भएपछि स्वाब परीक्षण कार्य सुरु गरिएको हो ।
अहिले एकैपटकमा ८० जनासम्मको स्वाब परीक्षण गर्न सकिने उनको भनाई छ । यसले जिल्लामा थप सहजता बनाएको उनले बताए । जिल्लामा स्वाब परीक्षण भएपछि रिपोर्ट आउन पनि समय नलाग्ने चन्को भनाई छ ।
अहिले प्रतिष्ठानमा भएको जनशक्तिले ल्याब परीक्षण गर्ने कार्य गरिरहेको प्रतिष्ठानका उपकुलपति डा. भण्डारीले बताईन् । जिल्लामा कोरोना बिशेष अस्पताल बेलझुण्डीबाट पनि स्वाब संकलन गर्ने गरिएको छ । बेलझुण्डीमा पनि एकसय बेडको आइसोलेसन कक्ष स्थापना गरि स्वाब संकलन तथा उपचार गर्ने कार्य भईरहेको छ ।