२०८१ असोज १७ गते बिहिवार
२०८१ असोज १७ गते बिहिवार

माधव नेपाल मन्त्रिमण्डलको लिष्ट तयार, गृहमन्त्री जनार्दन शर्मा

काठमाडौं । सरकारले गरेका प्राय ठूला निर्णय हरेक पटक ब्याक फायर हुने अवस्था उत्पन्न हुने मात्र होइन नेकपाका लागि समेत प्रतिउत्पादक हुने सल्लाह प्रधानमन्त्री केपी ओलीलाई कसले दिएको थियो हँ ? कि प्रधानमन्त्रीकै इच्छाले यस्ता अति नै विवादस्पद कामहरू भइरहेका थिए। कि यस्ता राष्ट्र नै उथलपुथल हुने अप्रिय निर्णय गराउन कुनै तत्वले प्रधानमन्त्रीओलीलाई नै चक्मा दिएर पार्टी र सरकारविरूद्ध निर्णय गराउन सफल भएको थियो ? गुठी विधेयकदेखि २०७७ वैशाख ८ गतेको जारी भएका २ अध्यादेशले केपी ओली नेतृत्वको सरकार नै परिवर्तनको संघारसम्म पुर्याउने प्रमुख पात्र को हो ? अहिले बुद्धिजीवीहरूको मनमा खेल्ने गरेको मुख्य प्रश्न यही हो ।

स्रोतका अनुसार, नेकपाको ४५ सदस्यीय स्थायी समितिको बैठक राखेर केपी ओली नेतृत्वको सरकार फाल्ने सहमतिमा प्रचण्ड, माधव कुमार नेपाल, भझलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, वामदेव गौतम समूह पुगेको खुमलटार स्रोतले बतायो ।

प्रचण्ड निकट स्रोतका अनुसार, चाँडोभन्दा चाँडो नेकपा स्थायी समिति बोलाउने, प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने, सहज रूपमा राजीनामा नदिएमा विभिन्न आरोप लगाउने, जस्मा पार्टीको कुरा नमानेको, स्वच्छन्द ढंगले सरकार चलाएको, पार्टीको सरसल्लाह बेगर नै गुठी विधेयक, अध्यादेश ल्याएर पार्टीको बद्नाम गर्ने काम सरकारले गरेको, पीएमका सल्लाहकारहरूबाटै पार्टी नेतृत्वप्रति विभिन्न आक्षेप लगाएर मानमर्दन गरेको र पछिल्लो पटक सांसद अपहरणसम्मको कार्यमा प्रधानमन्त्री निकट सांसदहरू नै प्रयोग जस्ता आरोप प्रधानमन्त्री केपी ओलीमाथि लगाउने तयारी गरेको माधव कुमार नेपाल निकट स्रोतले बतायो ।

नेकपाको ४५ सदस्यीय स्थायी समितिमा प्रधानमन्त्री केपी ओलीविरूद्धको पंक्तिमा ३२ जना रहेको स्थायी समितिले सहज रूपमा प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन आग्रह गर्ने, स्थायी समितिले गरेको आग्रह नमानेमा केन्द्रीय समिति तत्काल बोलाएर विभिन्न आक्षेप लगाएर प्रधानमन्त्री केपी ओलीलाई सरकारबाट फिर्ता बोलाउने र पार्टी अध्यक्षबाट समेत हटाउने तयारी गरिएको प्रचण्ड निकट स्रोतबाट जानकारी हुन आएको छ ।

माधव नेपाल मन्त्रिमण्डलको लिष्ट नै तयार :
प्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधानमन्त्री तथा शिक्षा मन्त्री नारायणकाजी श्रेष्ठ, अर्थ मन्त्री सुरेन्द्र पाण्डे, गृह मन्त्री जनार्दन शर्मा, उद्योग मन्त्री सोमनाथ पाण्डे र पर्यटन मन्त्री भीम रावल सहित २५ सदस्यीय मन्त्रिपरिषद्को नामावली समेत तयार भएको नारायणकाजी श्रेष्ठ निकट स्रोतले बतायो । स्रोतका अनुसार, प्रधानमन्त्री केपी ओली इतरको गठबन्धन अब कुनै पनि हालतमा नतोडिने गरी एकताबद्ध भएको छ । अब मात्रै वैधानिक र प्रक्रियागत ढंगले अघि बढ्न मात्र बाँकी भएकाले अब प्रक्रिया पुर्याउनका लागि पहिलो कदम नेकपाको स्थायी समिति बैठक बोलाएर अघि बढ्ने ।