२०८१ असोज २७ गते आइतवार
२०८१ असोज २७ गते आइतवार

भारतीय नागरिकद्वारा नेपाली सुरक्षाकर्मी माथि कुटपिट

कपिलवस्तु, 
१५ वैशाख । सेमरी नाकामा सीमा सुरक्षामा खटिएका दुई जना सुरक्षाकर्मीलाई छिमेकी भारतीय नागरिकले कुटपिट गरेका छन्। मर्यादपुर प्रहरी चौकीबाट नेपाल भारत सीमा क्षेत्र अन्तरगत यशोधरा गाउँपालिका ७ सेमरी सीमा नाकामा ड्युटी रहेका प्रहरी हवल्दार वशिष्ट यादव र प्रहरी जवान ईश्वर ज्ञवालीलाई सीमा नाका सँगैको भारतीय गाउँ पर्सौनाका भारतीयले कुटपिट गरेका हुन्।

भारतीय नागरिकहरुले सीमा नाकाको करिब २ सय मिटर दक्षिण गाउँतर्फ कुटपिट गरी लैजाँदै गर्दा नेपाली सुरक्षाकर्मी र भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीहरुले दुबै जना प्रहरीलाई उद्धार गरेका हुन्। घटनाको अगुवाई गर्ने तीन जनालाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरी नियन्त्रणमा लिएको बताइएको छ।

भारतीय गाउँलेको बाख्रा नेपालतर्फ आउँदा ड्युटीमा रहेका नेपाली सुरक्षाकर्मीबाट गाउँका एक जनाले पिटाई खाएको विषयलाई लिएर उनीहरुले अपहरण शैलीमा कुटपिट गर्दै भारततर्फ लगेको पीडित प्रहरी जवान ईश्वर ज्ञवालीले बताए।

कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले सीमा क्षेत्र शिल गर्ने घोषणासँगै जिल्लाका सीमा नाकाहरु पूर्ण रुपमा बन्द गरिएको छ। सीमा नाका पूर्ण रुपमा बन्द भएपछि सीमा नाकाबाट ओहोर दोहोर गर्न नपाएका कारण सुक्षाकर्मीमाथि आक्रमण गरिएको हुन सक्ने सशस्त्र प्रहरी उपरीक्षक जनक पुरीले बताएको खबर अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।