दाङ,
१६ वैशाख । घोराहीमा मंगलबारदेखि दैनिक चार घण्टा बजार खुल्न थालेको छ । अत्यावश्यक वस्तु किनमेलका लागि ११ देखि ३ बजेसम्म बजार खुलाउन थालेको जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले बताए ।
बजार खुलेपछि किनमेल गर्ने मानिसहरूको भीडभाड बढेको छ । लामो समय घरभित्र बसेकाहरू बाहिर निस्कन पाएका छन् । घोराही उपमहानगरसँगै जिल्ला प्रशासन कार्यालयको समन्वयमा दैनिक उपभोग्य वस्तुका पसल खुलाउन सुरु गरेको संघको विज्ञप्तिमा उल्लेख छ ।
बजार खुलेसँगै चैत १८ देखि थालिएको होम डेलिभरी सेवा स्थगित गरिएको छ । यसअघि संघले दैनिक उपभोग्य वस्तु गाडीमार्फत टोलटोलमा पुर्याएर बिक्री गरिरहेको थियो । सामाजिक दुरी कायम राख्दै आवश्यक सुरक्षा व्यवस्था अपनाएर कारोबार गर्न संघले व्यवसायीलाई अनुरोध गरेको छ ।