सल्यान,
१७ वैशाख । सल्यानमा एक वडाध्यक्षको घरमा ग्रिनेड बम विस्फोट भएको छ । जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष प्रेम बहादुर पुनको घरमा मंगलबार बिहान ग्रिनेड विस्फोट हुँदा उनका ७ वर्षीय नाति बाबल पुन गम्भीर घाइते भएका छन् ।
घाइते बाबलको अहिले नेपालगन्जमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घरमा कोहि नभएको बेला ७ वर्षीय बाबलले ग्रिनेड खेलाउदा विस्फोट भएको वडाध्यक्ष पुनले बताए ।
अध्यक्ष पुनले घरमा लुकाएर ग्रिनेड राखेको हुनसक्ने सुरक्षा निकायको अनुमान छ । घटनास्थलमा प्रहरी समेत पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बताए । घटनाको बारेमा अनुसन्धान भैरहेको उनको भनाइ छ ।
स्थानीयका अनुसार अध्यक्ष पुनले तत्कालीन माओवादीमा हुँदाखेरी नै जनयुद्धमा प्रयोग गरिने उक्त ग्रिनेड घरमा राखेका थिए । यता वडाध्यक्ष पुनले ग्रिनेड आफुसँग नभएको र कसैले ल्याएर घरमा फालिदिएको हुनसक्ने बताएका छन् ।