गुलरिया,
१८ वैशाख । जिल्ला प्रहरी कार्यालय बर्दियाको मुलगेट अगाडिबाट प्रहरीले लागुऔषध ब्राउनसुगर बोकेको आरोपमा ४ जनालाई नियन्त्रणमा लिएको छ । जिल्लास्थित प्रहरीको गस्ती टोलीले गोप्य सूचनाको आधारमा पछ्याउँदै जाँदा बा १२ च ६२९९ नम्बरको गाडीमा सवार उनीहरुलाई ४६ ग्राम ४३० मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरिएको हो ।
प्रहरीले कैलाली जिल्ला टिकापुर नगरपालिका वार्ड नम्वर १ का २८ वर्षीय राजन रावल, वार्ड नम्वर ९ का ३३ वर्षीय रमेश न्यौपाने, कैलाली लम्कीचुहा नगरपालिका वडा नम्वर ५ निवासी २९ वर्षीय रोशन कडायत र दैलेख जिल्ला दुल्लु नगरपालिका वार्ड नम्वर ७ निवासी २७ वर्षीय आकास शाहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय बर्दियाको मुलगेट अगाडि गाडी खानतलासीका क्रममा गाडीको स्टेरिङभित्र कालो प्लाष्टिकमा पोकोपारी राखेको अवस्थामा लागुऔषद बरामद गरिएको जनाइएको छ । बरामद ब्राउनसुगर, गाडी र निजहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको खड्काले बताए । पक्राउ परेका चारै जना उपर लागुऔषध कारोबार तथा ओसार पसार सम्बन्धी मुद्धामा अनुसन्धान भइरहेको खबर अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।