एजेन्सी,
१९ वैशाख । रसियाका प्रधानमन्त्री मिखाइल मिशुस्टिलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । प्रधानमन्त्री मिखाइललाई बिहीबार गरेको परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । बिहीबार मात्र रुसमा ७ हजार ९९ जना नयाँ संक्रमितहरु देखिएका थिए ।
सोही क्रममा प्रधानमन्त्री मिखाइलमा पनि संक्रमण भएको पुष्टि भएको छ । प्रधानमन्त्री मिखाइल बेलायतका प्रधानमन्त्री बोरिस जोनसनपछि कोरोना संक्रमित हुने विश्वका दोश्रो उच्च तहका नेता हुन् । त्यसअघि जोनसनबाहेक उच्च तहका नेताहरु संक्रमित भएका थिएनन् ।
रुसमा योसहित संक्रमितहरुको संख्या १ लाखभन्दा बढी भएको छ । जनवरीमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका मिखाइले कोरोना महामारी विरुद्धको अभियानमा राम्रो भूमिका खेलिरहेका छन् । प्रधानमन्त्री मिखाइलले आफुलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि राष्ट्रपति भ्लादिमिर पुटिनसँग निदानका उपायबारे भिडियो कन्फ्रेन्समार्फत सल्लाह लिनुभएको दृष्य रसियन टेलिभिजनले प्रसारण गरेको थियो ।
प्रधानमन्त्री मिखाइल भने सेल्फ आइसोलेसनमा बसेका छन् । रसियामा बिहीबारसम्म १ हजार ७३ जनाको संक्रमणबाट मृत्यु भएको छ ।
–बीबीसी