रोल्पा,
१९ वैशाख । रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँनजिक बम विस्फोटमा परी एकैघरका दिदीभाइसहित चार बालबालिकाको मृत्यु भएको छ । गैरीगाउँका ११ वर्षीया विमला खत्री, उनका पाँच वर्षीय भाइ विजय खत्री, छिमेकी १४ वर्षीय नोखिराम डाँगी र १३ वर्षीय गौरव नेपालीको मृत्यु भएको हो ।
जंगलमा बाख्रा चराएर घर फर्किँदै गर्दा बिहीबार साँझ उनीहरू बाटोमा विस्फोटमा परेका हुन् । बम घटनास्थलमै थियो अथवा उनीहरूले जंगलमा भेटेर ल्याएका थिए भन्ने पुष्टि हुन नसकेको गाउँपालिका अध्यक्ष शान्तकुमार ओलीले बताए । तर, घटनास्थलमा अर्को बम पनि भेटिएको छ ।
बालबालिका विस्फोटमा परेकै ठाउँ गैरीगाउँको दुम्लाखोलामा ०६२ मा तत्कालीन नेकपा माओवादी र शाही सेनाबीच भिडन्त भएको थियो । सो भिडन्तलाई ‘दुम्ला भिडन्त’ भनेर चिनिन्छ । भिडन्तमा घाइते भएका माओवादी सेनाका कम्पनी कमिसार तथा पूर्वराष्ट्रिय सभा सदस्य राजकुमार कुँवरका अनुसार ०६२ को ११ पुसमा बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म भिडन्त भएको थियो ।
‘बिहीबार टुइन्च मोर्टार बम विस्फोट भएको भनिएको छ । तत्कालीन युद्धमा यस्तो बम पनि प्रयोग भएका थिए, शाही सेनाले धेरै प्रयोग गरेको थियो । तर, यो बम यति लामो अवधिसम्म टिक्न सक्दैन,’ कुँवरले भने, ‘चार्जका आधारमा चल्ने बम यत्रो अवधिसम्म घाम र पानीमा परेर पनि चल्नु नपर्ने । मलाई त उहिलेको हो जस्तो लाग्दैन । तर, अनुसन्धानपछि स्पष्ट होला ।’ खबर नयाँ पत्रिकामा प्रकाशित छ ।