२०८१ कार्तिक १७ गते शनिवार
२०८१ कार्तिक १७ गते शनिवार

शंकास्पद बस्तु नचलाउन मुख्यमन्त्री पोखरेलको आग्रह

बुटवल, 
१९ वैशाख । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले गाउँघर वा जंगल क्षेत्रमा कुनै शंकास्पद बस्तु देखिएमा नचलाउन र सुरक्षाकर्मीलाइ जानकारी दिन अपिल गरेका छन् ।

बिहीबार रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा बम विस्फोटबाट ४ बालबालिकको मृत्यु भएको घटना स्मरण गर्दै घटनाले आफूलाई स्तब्ध भएको जनाएका छन् । ज्यान गुमाएका बालबालिकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गरेका छन् । बिहीबार साँझ जंगलमा बाख्रा चराएर फर्कने क्रममा फेला पारेको बस्तु खेलाउँदा भएको बम विस्फोटमा परेर गैरीगाउँका ५ वर्षका विजय खत्री, ११ वर्षकी विमला खत्री, १३ वर्षका गौरव नेपाली र १४ वर्षका नोखीराम डाँगीको मृत्यु भएको थियो ।

विस्फोटमा परेका बालबालिकाका परिवारलाई राहत दिन प्रदेश सरकारले संघीय सरकारलाई सिफारिस गर्ने मुख्यमन्त्री पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । द्वन्द्वकालका बढी प्रभावित क्षेत्रमा अझै पनि यस्ता शंकास्पद बस्तु फेला पर्न सक्ने भएकाले त्यस क्षेत्रका अभिभावकले बालबालिकालाई त्यस बारेमा सकारात्मक जानकारी दिन र सर्वसाधरण पनि सचेत बन्न पनि मुख्यमन्त्री पोखरेलले आग्रह गरेका छन् ।